• १५ असार २०८२, आइतवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

‘धानबालीको प्रवर्द्धन गर्न सरकारले उच्च प्राथमिता दिएको छ ’

१५ असार २०८२, आइतवार

काठमाडौं, १५ असार – कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले धानबालीको प्रवर्द्धन गर्न मन्त्रालयले उच्च प्राथमिकता दिएको बताएका थिए । २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ का अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीउबिजन तथा मलखादको व्यवस्था, प्रविधि विस्तार र किसानलाई प्राविधिक सहायता एवं ज्ञान उपलब्ध गराउने, न्यूनतम समर्थन मूल्यको कार्यान्वयन गर्नेजस्ता विषयहरू मन्त्रालयको प्राथमिकतामा रहेका उल्लेख गरेका थिए । 

‘धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नाराका साथ आज देशभरि राष्ट्रिय धान दिवस मनाइँदै छ । मन्त्री अधिकारीले भन्नुभयो, “नेपाली समाजमा परापूर्वकालदेखि नै धानको सांस्कृतिक, आर्थिक र सामाजिक महत्व रहँदै आएको छ । वर्तमान परिवेशमा अधिकांश नेपालीको आधारभूत खाद्यान्न धान नै हो र नेपाली समाजमा यसलाई खाद्य सुरक्षाको मानक मानिएको छ । यसै महत्वलाई दृष्टिगत गरी बर्सेनि धानबालीको प्रवर्द्धनात्मक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइरहेका छौँ ।”

उनले धान नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्ने र कुल ग्राहस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिने बाली रहेको जनाउँदै   कृषि विकास रणनीति, आवधिक योजना र अन्य नीतिहरूमा पनि धानमा आत्मनिर्भरताका लागि प्राथमिकता दिइएको छ भनेका थिए । विज्ञप्तिमा भनिएको छ  “त्यसकै आधारमा मन्त्रालयअन्तर्गतका निकाय तथा आयोजना एवं सङ्घीय सशर्त वित्तीय हस्तान्तरणमार्फत प्रदेश तथा स्थानीय तहहरूबाट धान प्रवर्द्धनका लागि विविध कार्यक्रम सञ्चालन भइरहेका छन् । धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीउबिजन तथा मलखादको व्यवस्था, प्रविधि विस्तार र किसानलाई प्राविधिक सहायता एवं ज्ञान उपलब्ध गराउने, न्यूनतम समर्थन मूल्यको कार्यान्वयन गर्नेजस्ता विषयहरू मन्त्रालयको प्राथमिकतामा रहेका छन् ।”

 उत्पादन प्रविधिको विकास र अनुशरण तथा जलवायुमैत्री सिँचाइ प्रविधि विकासमा थुप्रै प्रयासहरू भएका छन् । तथापि बढ्दो जनसङ्ख्या, जलवायु परिवर्तनका असरहरू र खाने बानीमा आएको परिवर्तनका कारण विभिन्न प्रयासका बाबजुद धान तथा चामलको आयात गर्नुपरेको छ । संविधानतः कृषि उत्पादन व्यवस्थापनका लागि स्थानीय तह र प्रदेश सरकार बढी जिम्मेवार रहेको सन्दर्भमा खाद्य सुरक्षा र आत्मनिर्भरताको राष्ट्रिय लक्ष्य प्राप्तिको दिशामा तीनै तहका सरकारबीचको सहकार्य र समन्वय थप मजबुद हुनुपर्ने आवश्यकता देखिएको मन्त्री अधिकारीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

 विज्ञप्तिमा भनिएको छ “जलवायु परिवर्तनको प्रतिकूल असरलाई न्यूनीकरण गर्दै धानको उत्पादन तथा उत्पादकत्वलाई दिगो बनाउन र धान चामलमा आत्मनिर्भरता हाँसिल गर्न आजको दिनले सम्बन्धित सबैमा थप ऊर्जा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।  ‘धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता’ भन्ने नारालाई सार्थक तुल्याउन तीनै तहका सरकारी निकाय, गैरसरकारी सङ्घसंस्था, कृषि प्राविधिक, विकास साझेदार तथा विभिन्न सरोकारवाला निकायहरूलगायत सम्पूर्ण किसान दिदीबहिनी तथा दाजुभाइहरूमा आह्वान गर्दछु । ” रासस

COMMENT

.