• १५ असार २०८२, आइतवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

लेक उक्लिए गोठाला

१४ असार २०८२, शनिवार

ढोरपाटन (बागलुङ), १४ असारः बर्खामा लेक र हिउँदमा बेसी सर्ने पश्चिम बागलुङका गोठालाको परम्परानै भइसक्यो । निसीखोला, तमानखोला र ढोरपाटनका धेरैजसो स्थानीयको मुख्य पेसा पशुपालन भएकाले चरिचरनका लागि लेकबेसी गर्ने गर्छन् । यस वर्ष पनि बर्खा लागेसँगै गोठालाहरु वस्तुभाउ लिएर लेक उक्लिन थालेका छन् । असार पहिलो सातादेखि नै लेक उक्लिन सुरु गरेका गोठलाहरु कोही गोठमै पुगिसके भने कोही बीच बाटोमै छन् । असार अन्तिम सातासम्म सबै गोठला लेकमा पुगिसक्छन् ।

एकै परिवारले सयौँको सङ्ख्यामा पशुपाल्ने हुँदा हिउँद बर्खा लेकबेसी गर्नु परेको हो । यतिबेला लेकमा उक्लिएका गोठलाहरु अब असोज ५ गतेपछि मात्रै बेसी झर्छन् । बर्खाभरी लेकमा बस्ने गोठलाहरुले चार महिनालाई पुग्ने खाद्यान्न र लत्ताकपडा बोकेर जाने गर्छन् । लेकमा बस्ने अधिकांश किसानको भेडीगोठ हुन्छ । केहीले गाई र भैँसी पनि लिएर गएका हुन्छन् । बर्खाभरी लेकमा बस्दा पशुको रेखदेखसँगै चोयाबाट बन्ने डोको, नाङ्लो, डाली, मान्द्रो र काठबाट बन्ने सामग्री बनाउने गर्छन् । जसले उनीहरुको आयआर्जनमा टेवा पु¥याएको हुन्छ । 

गोठालाहरु समुन्द्री सतहदेखि चार हजार ८०० मिटरको उचाईसम्म पुगेर गोठ बनाएर बस्ने गर्छन् । ढोरपाटन–९ का तिलबहादुर मगरले यसपाली ढिलो गरी लेक उक्लिनुभयो । उहाँ गत वर्ष उहाँ असारको ३ गतेनै गर्पाछेडा पुग्नु भएको थियो । मगरले भने, “मेरा साथीहरु त एक साता पहिलेनै लेकमा पुगिसके, यसपाली घरमा काम गर्ने मान्छे थिएनन्, बारी बाँझो राख्न भएन, कोदो लगाएर जाउँ भन्दा ढिलो भयो, ढिलै भए पनि जसोतसो आइयो, मेरा १२÷१५ वटा गाई र गोरु छन् ।”

६७ वर्षीय मगरले आफू नौ वर्षको उमेरदेखि भेडीगोठसँग लेकबेसी गर्न थालेको बताएका थिए । गाउँमा वस्तुभाउ पाल्ने सबै किसानहरु लेक उक्लिसकेको उनको भनाइ छ । बर्खाको समय गाउँ सुनसान हुने भन्दै दसैँ सुरु हुन थालेपछि मात्रै मान्छेहरुको चहलपहल हुने मगरले बताएका थिए । पहिलेको तुलनामा अहिले पशुपालन गर्नेहरुको सङ्ख्या कम हुँदै गएको उनले बताउछन् । आफूले लामो समयदेखि पशुपालन गर्दै आएको कतैबाट अनुदान नपाएको मगरले गुनासो पोखेका थिए ।

खासगरी किसानहरु रिग, सोलेडाँडा, गर्पाछेडा, टिकाधार, पोखरा, दहखर्क, खानीखोलालगायतका लेकमा पुग्ने गर्छन् । यि क्षेत्रमा पश्चिम बागलुङका मात्रै नभएर रोल्पा, रुकुम, डोल्पाबाट पनि सयौँको सङ्ख्यामा गोठालाहरु भेडा लिएर आउने गरेको निसीखोला गाउँपालिका–६ का पृथराम घर्ती मगरले बताउछन् । लेकमा धेरै ठाउँबाट गोठालाहरु आउँदा रमाइलो हुने भन्दै समस्या पर्दा एकले अर्कालाई सहयोग गर्ने उनको भनाइ छ । लेकमा पर्याप्त घाँस हुने हुँदा धेरै जसो गोठालाहरु बर्खाको समय बसीमा नबस्ने घर्ती मगरले सुनाएका थिए । उनका ५०० बढी भेडाहरु छन् ।

“बाउबाजेले भेडाबाख्रा नपालेको भए सायद अहिले हामीहरु यो पेसामा हुने थिएनौँ, ऊ बेला पढाइ गर्ने चलन थिएन, म अहिले ७९ वर्षमा लागे, जन्मेदेखि नै बाउआमाले मलाई गोठमा हिँडाउनु भएको रैछ, त्यही भएर होला यो पेसा छोड्नै मन लाग्दैन” घर्ती मगरले भने, “बुढेसकाल लाग्यो, अब त केही वर्षपछि लेक उक्लिन सकिदैन होला, बर्खामा बेसीमा वस्तुभाउ राख्न पाइँदैन, त्यहाँ बारीभरी खेती गरिएको हुन्छ, त्यही भएर अब दसैँ मान्न मात्रै तल झर्ने हो ।”

लेकबेसी गरेरै आफ्नो छ दशक बितेको तमानखोलाका गोरबहादुर रसाइलीले बताउछन् । दुई महिनाका लागि चाहिने अन्नपात लिएर लेक उक्लिन थालेको उनको भनाइ छ । बिरामी नपरे र कुनै समस्या नभए भदौमा मात्रै खर्च लिन घर झर्ने रसाइलीले बताएका थिए । गाउँबाट लेक पुग्न झण्डै दुई दिन लाग्ने हुँदा लामो समयका लागि एकै पटक खर्च लिएर जाने गरेको उनले बताएका थिए ।“अब आउने दसैँमा २०र३० वटा जति भेडा बिक्री गर्नु छ, त्यसले गर्दा पोहोर सालभन्दा केही दिन अगाडि बेसी झर्ने योजना बनाएको छ, अरु केही गर्न सकिएन यस सम्पत्ति पालेरै जीविको चलाएका छौँ, आठ÷दश भेडा वर्षै पिच्छे बिक्री हुन्छन्, त्यहीबाटै नुन तेल खाने पैसा आउँछ, बेसीमा मात्रै बसेर वस्तुभाउ पाल्न सकिदैन” रसाइलीले भने । रासस

COMMENT

.