• १० भदौ २०८२, मङ्गलवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

रोजगारीको प्रलोभन देखाएर ठगी

१२ असार २०८२, बिहिवार

दोधारा चाँदनी (कञ्चनपुर), १२ असारः सुनसरीका शिव अनुज कौडाल एक महिना अघि राम्रो रोजगारीको आशमा भारतको काशीपुर पुगेका थिए । राम्रो रोजगारी पाइने आशमा त्यहाँ पुग्नुभएका उहाँ काम गर्नुको सट्टा बन्धक भएका थिए । सुरुआतमा काम गर्नुपूर्व दश दिनको प्रशिक्षण लिनुपर्ने भन्दै कौडालबाट रु ४० हजार मागियो । प्रशिक्षणको नाममा कोठाभित्रै थुनियो । कतैजान दिइएन ।

“आफन्त साथीभाइहरुले नै राम्रो काम पाइन्छ भनेर भनेपछि त्यहाँ पुगेको थिए, त्यहाँ पुगेपछि काम गर्नुको साटो अन्य व्यक्तिलाई फसाउन प्रयोग गरियो”, भारतबाट उद्धार गरिएपछि महेन्द्रनगर आइपुग्नुभएका कौडालले भने–“हामीलाई बन्धक बनाइयो ,उनीहरुको भनेको नमाने कुटाइ खानु पथ्र्यो । हाम्रो मोबाइल फोन प्रयोग गरेर उनीहरुले अन्य नेपालीलाई पनि फसाउने काम गर्थे ।” आफु जस्तै रोजगारीका लागि भारत पुगेका अन्य नेपाली अझै बन्धक रहेका उनले बताएका थिए । 

आफ्नै काकाले राम्रो रोजगारीको आश देखाएपछि भारतको काशीपुर पुग्नुभएका इलामको माई नगरपालिका–८ का सौगातलाई पनि बन्धक बनाइयो । “काकाको सहयोगमा भारत पुगेको थिए, त्यहाँ पुगेपछि मलाई  काकालाई भेट्न दिइएन,” उनले भने । काम गर्नुभन्दा पहिला दश दिन प्रशिक्षण लिनुपर्ने भन्दै  रु ५० हजार रकम असुलेको उनले बताएका थिए । “कहिँ कतै जान दिइएन, मेरो फोन पनि उनीहरुले नै जफत गरे,” उनले भने । केही महिनाअघि ताप्लेजुङका सोम लिम्बुको मृत्युपछि आकर्षक रोजगारीको प्रलोभनमा भारत पुगेका नेपाली युवाहरु त्यहाँ बन्दक भएको घटना बाहिर आएको थियोे । त्यसपछि नेपाली दूतावास, भारतीय प्रहरीलगायतको पहलमा नौँ  नौबालकसहित ५७ जनाको उद्दार गरिएको हो ।

यसरी आकर्षक रोजगारीको प्रलोभनमा भारतमा बोलाइ बन्धक बनाइएका विभिन्न जिल्लाका ५७ नेपालीको उद्धार गरी नेपाल ल्याइएको थियो । भारतबाट उद्धार गरिएकामा चितवनका दश जना, कैलालीका नौ, सुनसरीका पाँच तथा उदयपुर, तेह्रथुमका र पाँचथरका चार÷चार, दाङ, स्याङजा र बाँकेका तीन÷तीन तथा ताप्लेजुङ, डोटी र धादिङका दुई÷दुई जना तथा सर्लाही, कास्की, रुकुम,बागलुङ, इलाम र रुपन्देहीका एक÷एक जना रहेका छन । भारतबाट उद्धार गरी बुधबार कञ्चनपुर ल्याइएका सबैलाई आ–आफ्नो घर पठाइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिएका थिए । उद्धार गरिएकालाई बुधबार कञ्चनपुरको गड्डाचौकी नाका हुदै यहाँ ल्याइएको थियो । रासस

COMMENT

.