• २५ जेठ २०८२, शनिवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

‘गणतन्त्र जनसङ्घर्षबाट प्राप्त उपलब्धि हो’

१६ जेठ २०८२, बिहिवार

काठमाडौं, १५ जेठ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र नेपाली जनताको लामो र कठोर सङ्घर्षको मूर्तरूप भएको बताएका थिए । गणतन्त्र दिवसको अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले गणतन्त्र ऐतिहासिक राजनीतिक उपलब्धि भएको भन्दै यसको रक्षा, प्रयोग र विकास गर्दै समुन्नत नेपाल बनाउने हामी सबैको साझा दायित्व भएको  बताउछन् । साथै उनले गणतान्त्रिक मूल्य, मान्यता र आदर्शहरूलाई सदा कायम राखिरहन आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न आह्वान गरेका थिए ।  

“यो राजनीतिक परिवर्तनले मुलुकको सामाजिक–आर्थिक विकासलाई तीव्रता दिन मार्ग प्रशस्त गरेको छ, हौसला प्रदान गरेको छ”, पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा  भने, “शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र पूर्वाधारको विकासमा एकस्तरका उपलब्धि हासिल भएका छन् । अनि आफ्नो देशको विकास आफैँ गर्नुपर्छ भन्ने भावना विस्तार भएको छ ।”मुलुकको आर्थिक विकासका प्रयासलाई थप सघन बनाउनुपर्नेमा जोड दिँदै उनले  जनताको समृद्धिको आकाङ्क्षालाई साकार तुल्याउन दत्तचित्त भएर लाग्नुपर्ने बताएका थिए । आर्थिक रूपले सुसम्पन्न नेपाल बनाउने महाभियानलाई सार्थक तुल्याउने दिशामा नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल र सम्बद्ध सबैलाई गणतन्त्र दिवसले प्रेरणा प्रदान गर्ने विश्वास पूर्वराष्ट्रपति भण्डारीले व्यक्त गरेका थिए । रासस

COMMENT

.