भद्रपुर (झापा), १७ वैशाख – भद्रपुर नगरपालिकाले नगरका आठ वडामा बाली उपचार शिविर सञ्चालन गरेको छ । हालसम्म वडा नं १ र २ मा शिविर सम्पन्न भई बाँकी वडा नं ३, ४, ६, ७, ९ र १० मा क्रमशः सञ्चालन गरिने कृषि विकास शाखाका अधिकृत सुमन विमलीले जानकारी दिएका थिए ।
शिविरमार्फत कृषि प्राविधिकहरुको टोलीले कृषकको खैतमै पुगेर बालीमा देखिएका कीरा र रोगको पहिचान गरी उपचार विधिबारे जानकारी दिने गरिएको कृषि अधिकृत विमलीले बताएका थिए । शिविर सञ्चालनका क्रममा मकैमा फौजी कीरा, लहरे बालीमा औसा, खुर्सानीमा थ्रिप्स र चियामा रेड स्पाइडर माइटजस्ता कीराको प्रकोप देखिएको कृषि विकास शाखाले जनाएको छ ।
शिविरमा सहभागी किसानले कार्यक्रम निकै उपयोगी रहेको बताउँदै खुसी व्यक्त गरेका छन् । प्राविधिक टोली आफैँ प्रत्यक्ष आएर बालीमा देखिएको समस्या पत्ता लगाई उपचार विधि समेत बताएर गएका थिए, साथै उपचार कसरी गर्ने भन्ने विषयमा सहज भएको भद्रपुर नगरपालिका–२ का किसान बलबहादुर कटुवालले बताएका थिए ।
जैविक विषादीको प्रवद्र्धन गर्दै आएको नगरपालिकाले शिविरमा किसानलाई निःशुल्क विषादी समेत वितरण गरेको कृषि विकास अधिकृत विमलीले बताउछन् । पालिकाले रसायनिक विषादीको साटो वातावरणमैत्री जैविक विषादी प्रयोगमा ल्याउन किसानलाई प्रेरित गरिरहेको उनको भनाइ छ ।
कृषिमा आधारित नगरको समृद्धिका लागि यस्ता व्यवहारिक र प्राविधिक कार्यक्रमलाई निरन्तरता दिइने नगर प्रमुख गणेश पोखरेलले बताएका थिए । बाली शिविरले किसानको आत्मबल, सीप र आम्दानी बढ्ने नगर प्रमुख पोखरेलको भनाइ छ । रासस


COMMENT
.