• २ जेठ २०८२, बिहिवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

१५ वैशाख २०८२, सोमवार

गोरखा, १५ वैशाखः गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । चट्याङ लागेर मुत्यु हुनेमा सहिद लखन गाउँपालिका–१, बक्राङका ४२ वर्षका राजु खनाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिएका थिए ।आइतबार साँझ अन्दाजी ७ः५० बजे घरमा बसिरहेका बेला एक्कासी परेको चट्याङ लागेर खनाल गम्भीर घाइते भएका थिए । घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि ल्याएको भएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक शर्माले जानकारी दिएका छन् ।

मृतकको शव अहिले परीक्षणका लागि अस्पतालमा राखिएको छ । त्यस्तै  आइतबार साँझ नै पालुङटार नगरपालिका–७ स्थित च्याङलीमा चट्याङ लागेर ५० वर्षकी सुकमायाँ आले, १८ बर्षिया विपना आले घाइते भएका छन् । घाइते दुवैजनाकोे चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर दुई मजदुरको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको अवस्थामा आइतबार हावाहुरीसहितको चट्याङ लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत पुविर राई र सोही ठाउँका वर्ष १८ का महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिएका थिए । 

समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाईमा रहेको त्रिवेणीताल पदमार्गमा बाटो फराकिलो बनाउने, सिँढी हाल्ने र रेलिङ निर्माणमा खटिएका नौ जनामध्ये बाँकी सात जना भने सकुशल रहेको जनाइएको छ ।घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा चार जनाको टोली आइतबारनै घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक शमाले बताउछन् । उनले भने, “जिल्लाबाट गएको प्रहरी टोली हिजो राति घान्द्रुक पुगेर बास बसेको छ ।  त्यहाँबाट पैदल पाँच घण्टाभन्दा बढी समय लाग्ने भएकाले दिउँसोसम्म घटनास्थल पुगेर शव ल्याउने प्रक्रिया सुरु हुन्छ ।” नेपाल पर्यटन बोर्ड र गाउँपालिकाकाको संयुक्त लगानीमा पदमार्ग निर्माण सुरु भएको गाउँपालिकाले जनाएको छ । रासस


COMMENT

.