काठमाडौँ – रास्वपा सभापति रवि लामिछाने आज छुट्ने सम्भावना रहेको निकटस्थहरुले बताएका छन् । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेका तर्फबाट सर्वोच्च अदालतमा हिजो परेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज प्रारम्भिक सुनुवाइ हुँदैछ।
आफूलाई गैरकानुनी थुनामा राखेको दाबी गर्दै लामिछानेले श्रीमती निकिता पौडेलमार्फत् आइतबार सर्वोच्चमा निवेदन दिएका हुन्। उक्त निवेदनको प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेसी तोकिएको छ। आफूलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध उनले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए। उक्त निवेदनमा सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतबाट कागजात झिकाइसकेको छ।उच्चको आदेश बदर गरी थुनाबाहिर राख्न माग गरिएको निवेदनको टुंगो लाग्न समय लाग्ने देखिएपछि उनले बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका हुन्।
बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीले रविलाई १ करोड धरौटीमा रिहा गरेको थियो। तर, उक्त आदेश उच्च अदालतले चैत २२ गते बदर गरेर थुनामै पठाउन भनेको थियो। आदेश आएको केही घण्टामै रवि काठमाडौँबाट पक्राउ परेका थिए। उनी हाल रुपन्देही कारागारमा छन्।


COMMENT
.