• १५ असार २०८२, आइतवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

'लिटिल बुद्ध’ भनिने रामबहादुर बमजनले उच्च अदालतबाट पाए सफाइ

४ वैशाख २०८२, बिहिवार
काठमाडाैं - ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बमजनलाई उच्च अदालतले सफाइ दिएको छ । उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बमजन जेलमुक्त भएका छन् ।सर्लाहीकी नाबालिका अनुयायी ‘आनी’माथि यौन दुराचार गरेको आरोप लागेका बमजनलाई उच्च अदालत जनकपुरले सफाइ दिएको हो ।

उच्च अदालत जनकपुरले सर्लाही जिल्ला अदालतको फैसला उल्ट्याउँदै बमजनलाई २०८१ चैत ६ गते सफाइ दिएको हो । न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले बमजनलाई बलात्कार मुद्दामा सफाइ दिएको अदालतका उपरजिष्ट्रार सुशील यादवले बताए ।

बमजनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । त्यसविरूद्ध उनले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।‘जिल्ला अदालत सर्लाहीले गरेको १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय उच्च अदालतबाट उल्टी भएको छ, अदालतले दाबी नपुग्ने देखिएपछि उक्त मुद्दा नै खारेज भएको छ,’ यादवले भने । उच्च अदालतले फैसला गरेको बखत बमजन जिल्ला कारागार कार्यालय सिन्धुपाल्चोक थिए । उनलाई अर्की आनी फूलमाया रुम्बा बेपत्ता पारेको मुद्दाको सुनुवाइको लागि सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको थियो ।

कारागारबाट मुक्त हुँदा बमजनलाई उनकी श्रीमती दीपशिखाले बुझेकी थिइन् । ती कर्मचारीका अनुसार रुम्बा बेपत्ता प्रकरणमा सिन्धुपाल्चोक अदालतले कात्तिक २५ गते धरौटीमा रिहा गरेको थियो ।बमजनलाई तीन लाख धरौटीमा सिन्धुपाल्चोक अदालतले रिहा गर्ने आदेश दिएको थियो । सिन्धुपाल्चोकको मुद्दाको प्रारम्भिक सुनुवाइ सकिए पनि उनी त्यहीँ कारागारमा थिए ।

COMMENT

.