काठमाडौं – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको मद्दतमा एफसी बार्सिलोनाले ला लिगामा भ्यालेन्सियामाथि ५–० को फराकिलो जित दर्ता गरेको छ।

भ्यालेन्सियाको घरेलु मैदानमा आइतबार राति भएको खेलमा यामालले यस सिजनको ला लिगामा आफ्नो गोलको खाता खोले। खेलको छैटौँ मिनेटमै प्राप्त पासलाई १९ वर्षीय यामालले उत्कृष्ट टो–पिकमार्फत गोलमा परिणत गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए।

गोल गरेपछि यामालले औँला मुखमा राखेर उत्सव मनाएका थिए। उनले उक्त गोल आफ्ना चार वर्षीय भाइ केयनप्रति समर्पित गरेका थिए। खेल हेर्न यामालकी आमा र भाइ समेत रंगशालामा उपस्थित थिए।

बार्सिलोनाका लागि फर्मीन लोपेज, राफिन्हा र रोड्रिले थप एक–एक गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए।

खेलको ८४औँ मिनेटमा डानी ओल्मोको पासमा यामालले बायाँ खुट्टाले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ५–० को शानदार जित सुनिश्चित गर्‍यो।

यस जितसँगै बार्सिलोनाले ला लिगामा लगातार चौथो जित हात पार्दै शीर्ष स्थान कायम राखेको छ।

चोटका कारण अघिल्लो सिजनका अन्तिम केही खेल गुमाएका यामालले यसै गृष्मकालीन विश्वकपमा स्पेनलाई दोस्रो पटक उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।