वर्षायाम सुरु भएसँगै हातखुट्टाका औँलाको कापमा हुने ‘हिलोले खाने’ समस्या बढ्न थालेको छ। विशेषगरी खेतीपाती गर्ने, फोहोर वा पानी जमेको स्थानमा लामो समय काम गर्ने व्यक्तिहरूमा यो समस्या बढी देखिने चिकित्सकहरू बताउँछन्।
छाला तथा यौनरोग विशेषज्ञ डा. सुधिर बानियाँका अनुसार ‘हिलोले खाने’ समस्या वास्तवमा ढुसी (फङ्गस) र जीवाणु (ब्याक्टेरिया) को संक्रमणका कारण हुने छालासम्बन्धी रोग हो। फोहोर पानीमा लामो समय बस्नु, खुट्टामा निरन्तर ओस रहनु, घर्षण हुनु तथा औँलाका कापहरू सफा र सुक्खा नराख्नु यसको मुख्य कारण हुन्।
मुख्य लक्षण
औँलाको कापमा चिलाउने र पोल्ने
छाला उप्किने तथा घाउ हुने
पानी वा पिप बग्ने
खुट्टा तथा औँला सुन्निने
साना–साना फोका आउने
दुर्गन्ध आउने
चिकित्सकका अनुसार सुरुवाती अवस्थामा सामान्य देखिने संक्रमण समयमै उपचार नगरे छालाको भित्री तहसम्म फैलिन सक्छ। यसले गम्भीर संक्रमण, ठूलो घाउ तथा अन्य ब्याक्टेरियल संक्रमणको जोखिम बढाउन सक्छ।
घरमै अपनाउन सकिने प्राथमिक उपचार
बिहान–बेलुका मनतातो पानीले खुट्टा सफा गर्ने।
खुट्टा विशेषगरी औँलाको काप पूर्ण रूपमा सुक्खा राख्ने।
आवश्यकता अनुसार भ्यासलिन वा नरम तेल लगाउने।
हावा छिर्ने जुत्ता वा चप्पल प्रयोग गर्ने।
लामो समयसम्म फोहोर वा पानी जमेको स्थानमा नबस्ने।
कहिले अस्पताल जाने?
यदि घरेलु उपचार गर्दा पनि घाउ निको नहुने, अत्यधिक दुख्ने, धेरै सुन्निने, पिप जम्ने वा संक्रमण फैलिँदै जाने अवस्था देखिएमा तुरुन्त छाला रोग विशेषज्ञको सल्लाह लिनुपर्ने डा. बानियाँको सुझाव छ। आवश्यक परे चिकित्सकको सल्लाहअनुसार एन्टिफङ्गल वा एन्टिब्याक्टेरियल औषधि तथा मलम प्रयोग गर्नुपर्छ।
चिकित्सकहरूले वर्षायाममा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन, खुट्टालाई सधैं सुक्खा राख्न र संक्रमणको सुरुवाती लक्षण देखिनेबित्तिकै उपचार सुरु गर्न आग्रह गरेका छन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्