काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०:२६ बजे उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। त्यस दिन बिहान ०८:४९ बजे देवी विसर्जन गरी १०:२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ।
समितिका अनुसार टीका पश्चिम मोहडा गरेर लगाउनुपर्छ। टीका लगाइमाग्ने मानिसले पश्चिम फर्केर टीका थाप्नुपर्नेछ। विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिए।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विदेशमा बसोबास गर्ने नेपालीका लागि स्थानीय समयअनुसार विजया दशमीको टीका लगाउने साइत सार्वजनिक गरेको छ। समितिका अनुसार भारतको दिल्लीमा अक्टोबर २१ मा बिहान ९:११ बजे, भुटानको थिम्पुमा बिहान १०:१४ बजे र अमेरिकाको न्युयोर्कमा अक्टोबर २० मा बिहान १०:११ बजे टीकाको साइत रहेको छ।
त्यस्तै, क्यानडाको टोरन्टोमा अक्टोबर २० मा बिहान १०:४१ बजे, बेलायतको लन्डनमा बिहान १०:५५ बजे, फ्रान्सको पेरिसमा बिहान ११:३९ बजे र जापानको टोकियोमा अक्टोबर २१ मा बिहान १०:१७ बजे टीका लगाउने साइत तोकिएको छ।
अस्ट्रेलियाको सिड्नीमा अक्टोबर २१ मा बिहान ९:२१ बजे र मेलबर्नमा बिहान ९:३० बजे साइत रहेको समितिले जनाएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्