विचौलिया इनम सापकोटा प्रकरणमा सर्वोच्चको पाँच निर्णय : निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह
सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले विचौलिया इनम सापकोटासँग जोडिएका विषयमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। सोमबार बसेको पूर्ण बैठकले यस प्रकरणसँग सम्बन्धित विषयमा छलफल गर्दै पाँचवटा निर्णय गरेको हो।
सर्वोच्च अदालतका न्यायाधीशलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारबारे बैठकमा छलफल भएको सर्वोच्च अदालतका प्रवक्ता डा. अशोककुमार श्रेत्रीले जानकारी दिएका छन्।
पूर्ण बैठकले संविधानको सर्वोच्चता र कानुनको शासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै सबैलाई यसप्रति गम्भीर हुन आग्रह गरेको छ। साथै सार्वजनिक रूपमा आएका समाचार तथा विषयवस्तुमाथि कुनै पूर्वाग्रह नराखी स्वतन्त्र र निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ।
त्यस्तै, सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारसँग सम्बन्धित अनुसन्धानमा कानुनबमोजिम आवश्यक सहयोग र जवाफदेहिता निर्वाह गर्न सर्वोच्च अदालत प्रतिबद्ध रहेको निर्णयमा उल्लेख छ।
बैठकले छानबिनबाट सत्यतथ्य बाहिर ल्याई निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न पनि आग्रह गरेको छ। यसका साथै समाचारका कारण विचलित नभई नियमित रूपमा न्यायिक कार्यमा सक्रिय रहन मातहतका सबै अदालतमा कार्यरत न्यायाधीश तथा कर्मचारीलाई अनुरोध गरेको छ।
विचौलिया इनम सापकोटासँग जोडिएका विषयमा उठेका प्रश्न र सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारबारे बैठकमा छलफल भएको सर्वोच्च अदालतका प्रवक्ता डा. अशोककुमार श्रेत्रीले जानकारी दिएका छन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्