एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरान वार्तामा फर्किन तयार नभए अर्को सातादेखि इरानका पुल तथा विद्युत् उत्पादन केन्द्रहरूलाई लक्षित गरी आक्रमण गर्ने चेतावनी दिएका छन्।

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले भने, “यदि उनीहरू वार्ताको टेबलमा आएनन् भने अर्को साता अवस्था उनीहरूका लागि निकै खराब हुनेछ। हामी उनीहरूका सबै विद्युत् केन्द्र र पुलहरू ध्वस्त पार्नेछौँ।”

यो अभिव्यक्ति अमेरिका र इरानबीच लगातार चौथो दिनसम्म आक्रमण र प्रतिआक्रमण जारी रहेका बेला आएको हो। यसअघि ट्रम्पले हर्मुज जलमार्ग हुँदै सञ्चालन हुने मालवाहक जहाजमा २० प्रतिशत शुल्क लगाउने योजना फिर्ता लिए पनि इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी भने कायम राखेका छन्।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले हर्मुज जलमार्ग आसपासका इरानी सैन्य संरचनामाथि दर्जनौँ आक्रमण गरेको जनाएको छ। सेन्टकमका अनुसार व्यापारिक जहाजमाथि हुन सक्ने खतरा कम गर्ने उद्देश्यले ती कारबाही गरिएको हो।

इरानी अधिकारीहरूका अनुसार दक्षिणपूर्वी बामपुर क्षेत्रमा रहेको सैन्य अड्डामाथिको अमेरिकी आक्रमणमा कम्तीमा सात सैनिकको मृत्यु भएको छ।

यसैबीच, इरानले जोर्डन, कुवेत र बहराइन स्थित अमेरिकी सैन्य लक्ष्यहरूमा मिसाइल र ड्रोन प्रहार गरेको दाबी गरेको छ। कुवेत र बहराइनले भने आफ्ना हवाई प्रतिरक्षा प्रणालीले अधिकांश आक्रमण निष्क्रिय पारेको बताएका छन्।

सेन्टकमले इरानमाथि सात वटा व्यापारिक जहाजलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाउँदै त्यसबाट करिब एक दर्जन नागरिक चालकदलका सदस्य मारिएको, घाइते भएको वा बेपत्ता भएको जनाएको छ।

उता, संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना दुई तेल ट्याङ्करमा इरानी क्रुज मिसाइल प्रहार हुँदा एक भारतीय चालकदल सदस्यको मृत्यु भएको तथा आठ जना घाइते भएको जानकारी दिएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले भने ती ट्याङ्करले चेतावनी बेवास्ता गर्दै नेभिगेसन प्रणाली बन्द गरी प्रतिबन्धित मार्ग प्रयोग गर्न खोजेकाले कारबाही गरिएको दाबी गरेको छ।

हर्मुज जलमार्गमा बढ्दो तनावका कारण तेल ढुवानी गर्ने जहाजहरूको आवतजावत घट्न थालेको छ भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा समेत वृद्धि हुने दबाब देखिएको छ।