स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिका–६ पिँडीखोलामा गोठ भत्किँदा ६५ वर्षीय धनबहादुर राना मगरको मृत्यु भएको छ।

बिहीबार बिहान गोठमा रहेका भैँसी तथा अन्य चौपायालाई दानापानी र कुँडो खुवाउँदै गरेका बेला अचानक गोठ भत्किएर उनी च्यापिएका थिए। घटनामा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

दुर्घटनामा एउटा भैँसी पनि मरेको छ भने एउटा बङ्गुर घाइते भएको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयवासीको सहयोगमा मगरको शव गोठबाट बाहिर निकालिएको थियो।

केही दिनयताको अविरल वर्षाका कारण स्याङ्जाका विभिन्न स्थानमा घर, गोठ तथा विद्यालयमा क्षति पुगेको छ। वर्षासँगै पशुचौपायामा समेत क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ।