काठमाडौं।। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डमा रिक्त पदाधिकारीहरू पदपूर्तिको प्रक्रिया अघि बढाएको छ । दुई साता अघि पदपूर्ति सम्बन्धी प्रक्रिया अघि बढेको भन्दै आवेदन माग गरेको मन्त्रालयले आकस्मिक रुपमा तीन दिन पछि रद्द गरेको थियो । यस पटक भने मुख्य मुख्य पदाधिकारीको लागि मात्रै आवेदन माग गरिएको छ ।

आवेदन माग गरिएका पदहरूमा नेपाल आयुर्वेद चिकित्सा परिषद्मा अध्यक्ष र रजिस्ट्रार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य ७ र सदस्य सचिव १ जना, नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रार पदमा आवेदन माग गरिएको छ ।यस्तै नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा अध्यक्ष र रजिस्ट्रार, नेपाल फार्मेसी परिषद्मा अध्यक्ष र रजिस्ट्रार, नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष र रजिस्ट्रार पदका लागि आवेदन माग गरिएको छ । यस्तै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशक र स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरिएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीहरूको छनौट सिफारिस र नियुक्ति सम्बन्धी कार्यविधि – २०८३,यस पटक धेरै परिषद्हरुमा सदस्यहरूको आवेदन खोलिएको छैन । मुख्य पदाधिकारीहरू नियुक्त भरसके पछि उनीहरूको सिफारिस बमोजिम नयाँ सदस्यहरू तोक्ने तयारीमा मन्त्रालय रहेको बुझिएको छ । मन्त्रालयले उल्लेखित पदहरूमा १० दिन भित्र आवेदन गर्न भनेको छ ।