क्यालिफोर्निया,। अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एड्वार्ड्स वायुसेना शिविरबाट उडान भर्नेबित्तिकै अमेरिकी वायुसेनाको ‘बी(५२’ बमवर्षक विमान दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बोइङ कम्पनीका दुई कर्मचारीसमेत रहेका छन्।
नियमित परीक्षण उडानका क्रममा विमान दुर्घटनामा परेको हो। दुर्घटनालगत्तै आकाशमा कम्तीमा केही माइल टाढाबाट देखिने गरी कालो धुवाँको मुस्लो उडेको थियो। वायुसेनाका अधिकारी कर्नेल जेम्स हायसले दुर्घटनालाई ‘भयानक त्रासदी’ को संज्ञा दिँदै ज्यान गुमाउनेहरूमा सैनिक अधिकारी, सरकारी निजामती कर्मचारी र सरकारी ठेकेदार कम्पनीका प्रतिनिधिहरू रहेको जानकारी दिए।
अधिकारीहरूका अनुसार प्रारम्भिक फुटेजहरूको अध्ययनबाट विमान उड्नेबित्तिकै अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको र विमानमा आगो लागेको देखिएको छ। विमान ‘रनवे’ भित्रै दुर्घटना भएकाले थप क्षति हुन नपाएको र हालका लागि सो सैन्य शिविरका सम्पूर्ण उडानहरू स्थगित गरिएको छ। दुर्घटनाको यकिन कारण भने खुलिसकेको छैन। यसबारे अनुसन्धान सुरु भइसकेको र विस्तृत प्रतिवेदन आउन ६ महिनाभन्दा बढी लाग्न सक्ने हायसले बताए।
क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युजमले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।
सन् १९५० को दशकदेखि अमेरिकी सेनाले प्रयोग गर्दै आएको ‘बोइङ बी(५२ स्टाटोफोर्ट्रेस’ अत्याधुनिक र विशाल रणनीतिक बमवर्षक विमान हो। अमेरिकी सेनाले हालै इरानमा भइरहेको सैन्य कारबाहीका क्रममा पनि यस विमानको प्रयोग गर्दै आएको थियो। व्यावसायिक विमानभन्दा निकै माथि अर्थात् ५० हजार फिटको उचाइसम्म उड्न सक्ने यो विमानले ३२ हजार किलोभन्दा बढी वजनका सयौँ परम्परागत बम र ३२ वटा आणविक क्रुज क्षेप्यास्त्रहरू एकैपटक बोक्न सक्ने क्षमता राख्छ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्