सरकारविरुद्ध साझा धारणा बनाउन प्रतिपक्षी दलहरू एकजुट हुँदै, कांग्रेसको आह्वानमा बैठक

सरकारको पछिल्लो कार्यशैली, संविधानको कार्यान्वयन तथा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अन्य प्रतिपक्षी दलहरूसँग छलफल अघि बढाएको छ।

कांग्रेसको आह्वानमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिपक्षी दलका नेताहरूको बैठक सुरु भएको हो। बैठकमा सरकारका पछिल्ला गतिविधि, स्वेच्छाचारिताको आरोप, सञ्चारमाध्यममाथि भइरहेको हस्तक्षेप तथा संविधानको मर्म र भावनामाथि प्रहार भएको भन्दै उठेका विषयमा छलफल भइरहेको छ।

बैठकमा नेकपा एमालेका सचिव तथा संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता वर्षमान पुन र प्रमुख सचेतक युवराज दुलाल सहभागी छन्। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओली पनि बैठकमा उपस्थित छन्।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयका अनुसार संसद्बाहिर रहेका राजनीतिक दलका नेताहरूको समेत बैठकमा सहभागिता रहेको छ।

सरकारका पछिल्ला निर्णय तथा गतिविधिका विषयमा प्रतिपक्षी दलहरूबीच साझा धारणा बनाउने र आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे छलफल केन्द्रित रहेको बताइएको छ।

संविधान, लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस स्वतन्त्रताको विषयलाई उठाउँदै प्रतिपक्षी दलहरूबीच हुन लागेको यो छलफललाई सरकारका गतिविधिप्रति सामूहिक राजनीतिक प्रतिक्रिया तयार पार्ने प्रयासका रूपमा हेरिएको छ।