काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले जलवायु परिवर्तन र विपद् न्यूनीकरणजस्तो संवेदनशील विषयमा संसद्मा दोहोरो प्रकृतिको समिति गठन गर्ने तयारीप्रति असन्तुष्टि जनाएकी छन्।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विकले संघीय संसदका दुवै सदनको अपनत्व हुने गरी संयुक्त विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन्।
सुरुमै आएको थियो संयुक्त समितिको प्रस्ताव
सांसद विकले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विपद्बारे अध्ययन गर्न सुरुमै संघीय संसद्को संयुक्त समिति निर्माणको प्रस्ताव गरिएको सम्झाइन्। तर, सत्तापक्षको असहमतिका कारण त्यस समयमा संयुक्त समिति बन्न नसकेको उनको भनाइ छ।
संसद्को गरिमा र कार्यसम्पादनको प्रभावकारिताका लागि पनि यस्तो अभ्यास रोकिनुपर्ने उनको जिकिर छ।
'दोहोरो समिति राज्यको ढुकुटीको दुरुपयोग'
हाल राष्ट्रिय सभामा पनि उस्तै प्रकृतिको समिति बन्न लागेको खबरतर्फ संकेत गर्दै उनले भनिन्, 'एउटै उद्देश्य र कार्यक्षेत्रका लागि दोहोरो समिति बनाउनु राज्यको ढुकुटीको दुरुपयोग हो। संघीय संसद्का दुवै सदनको प्रतिनिधित्व र अस्तित्वलाई स्वीकार गर्दै एकै प्रकारको उद्देश्यका लागि संयुक्त विशेष समिति बनाउन म पुनः माग गर्दछु।'
एउटै काममा दोहोरो खर्च र जनशक्ति परिचालन हुनु जिम्मेवार संसद्को अभ्यास हुन नसक्ने भन्दै उनले साझा बुझाइका साथ अघि बढ्न सत्तापक्षलाई आग्रह गरिन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्