प्रतिनिधिसभा बैठकमा एमाले सांसद राजेन्द्रकुमार राईले सभामुख डोलप्रसाद अर्याललाई लक्षित गर्दै दिएको अभिव्यक्तिपछि उत्पन्न विवादले संसद् बैठक केही समयका लागि प्रभावित भएको छ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद राईले ‘सभामुखज्यू, तपाईँ कान सुन्नुहुन्छ कि हुँदैन?’ भन्ने अभिव्यक्ति प्रयोग गरेका थिए। उक्त टिप्पणीपछि संसद्मा विवाद चर्किएपछि बैठक केही समयका लागि स्थगित गरिएको थियो।
पछि बैठक पुनः सञ्चालन भएपछि सभामुख डोलप्रसाद अर्यालले सांसद राईले बोल्ने क्रममा प्रयोग गरेका सम्पूर्ण विवादित शब्दहरू संसदीय अभिलेख (रेकर्ड) बाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिए।
बैठकमा पुनः बोल्दै सांसद राईले आवेशमा आएर कहिलेकाहीँ अभिव्यक्ति दिने अवस्था सिर्जना हुने स्वीकार गरे। उनले संसद्को विधि, प्रक्रिया र संस्थागत मर्यादाप्रति आफूहरूको सम्मान रहेको पनि बताए।
राईले प्रतिपक्षले उठाउँदै आएका विषयमा सरकारले गम्भीरता नदेखाएको आरोप लगाउँदै आफ्ना मागहरूको निरन्तर बेवास्ता गरिए आन्दोलन जारी रहने चेतावनी दिए। साथै उनले समस्या समाधानका लागि संवाद, सहमति र संसदीय प्रक्रियामार्फत अघि बढ्नुपर्नेमा जोड दिए।
यस घटनापछि संसद्मा शिष्ट भाषा, संसदीय मर्यादा र अभिव्यक्तिको सीमाबारे पुनः बहस सुरु भएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्