चितवन।। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सामाजिक न्यायसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति अझ स्पष्ट र बलियो प्रतिबद्धता व्यक्त गर्न आग्रह गरेका छन् ।आइतबार रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई भरतपुरमा सम्बोधन गर्दै पुनले नयाँ राजनीतिक शक्तिका रूपमा छोटो समयमै उल्लेखनीय जनसमर्थन हासिल गरेको रास्वपामाथि देशको विशेष चासो र अपेक्षा रहेको बताए ।

महाधिवेशनबाट तय हुने नेतृत्व, विचार, रणनीति र कार्यदिशाले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने भएकाले यसको महत्त्व विशेष रहेको उनको भनाइ थियो ।‘विशाल जनमतसहितको सत्तारुढ दलको यो महाधिवेशनलाई सिङ्गो देशले हेरिरहेको छ । यसकारण पनि तपाईंहरुको महाधिवेशनमाथि धेरैको आँखा छ कि महाधिवेशनबाट तपाईंहरुले कस्तो नेतृत्व, विचार, रणनीति र कार्यदिशा तय गर्नुहुन्छ भन्ने विषयले समग्र राष्ट्रिय जीवनलाई नै प्रभाव पार्दछ ।

तपाईंहरु यस महाधिवेशनमार्फत पहिलो पटक देशव्यापी रूपमा पूर्ण सङ्गठनको आकारमा जाँदै हुनुहुन्छ’, पुनले भने, ‘तपाईं र हामीबिचमा केही भिन्नताहरू छन् । ती भिन्नता केही आशङ्काको तहमा, केही नीतिगत, केही व्यवहारगत र केही शैलीगत छन् ।’

‘हामीलाई तपाईंहरुको नियतमाथि शंका छैन, तर सामाजिक न्यायसहितको सङ्घीय लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरुबाट अझ उच्च तहको प्रतिबद्धता आइदेओस् भन्ने चाहन्छौँ । मलाई विश्वास छ, यो ऐतिहासिक महाधिवेशनले तपाईंहरुमाथिका संविधान, लोकतन्त्र, स्थापित प्रणालीजस्ता विषयमा रहेका प्रश्न, आरोप र आशङ्काहरूलाई मेटाउन सफल हुनेछ । यो पहिलो महाधिवेशनले तपाईंहरुलाई वैचारिक तथा सङ्गठनात्मक दिशा निर्देश एवं स्पष्टता प्रदान गर्ने गर्नेछ भन्ने शुभेच्छा प्रकट गर्दछु’ उनले भने ।