काठमाडौं।। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालको समस्या स्रोतको अभाव र सम्भावनाको अभाव नभएर गलत प्रोत्साहन गर्ने संरचना भएको बताएका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा बोल्दै उनले सो बताएका हुन् ।

उनले आफूहरू नेपालको राजनीतिक इतिहासको एउटा नयाँ अध्याय लेख्न भेला भएको बताउँदै रास्वपा नेपाली समाजमा लामो समयदेखि सञ्चित निराशा र आक्रोश अनि अर्कोतर्फ सकारात्मक परिवर्तनको तीव्र आकांक्षाको राजनीतिक अभिव्यक्ति भएको बताए ।

‘जब इमानदार मानिसहरूले राजनीति असल मानिसका लागि होइन भन्ने निष्कर्ष निकाल्न थाले, जब लोकतन्त्रले आशा जगाउन छाड्यो र सत्ता केवल लालचको व्यवस्थापन जस्तो देखिन थाल्यो, जब नागरिक र राज्यबीचको विश्वासको पुल भत्किन थाल्यो, त्यतिबेला परिवर्तनको चाहना विद्रोहमा बदलियो, र त्यो विद्रोहको लोकतान्त्रिक आवाज बन्न सकेको हो राष्ट्रिय स्वतन्त्र पार्टी’, उनले भने ।

विगतका आन्दोलनहरूले नेपालमा लोकतन्त्र ल्याएको, संविधान आएको र समावेशिताको आधार तयार भन्दै उनले यी उपलब्धिहरूको आफूहरूले सम्मान गर्ने बताए । तर, विगतमा निर्वाचनले उत्तरदायित्व कमजोर रहेको, संस्था बलियो नभएको र राज्यको क्षमता नबढेको भन्दै उनले लोकतन्त्रको गुणस्तर बढाउनुपर्ने बताए ।