रवि लामिछानेको प्रधानमन्त्री बालेनलाई सन्देश : सरकारलाई पार्टीले घच्घच्याउँदा डराउनुपर्ने अवस्था छैन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन पुगेर प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई लोकतान्त्रिक मूल्य–मान्यता र जनताको अपेक्षालाई ध्यानमा राखेर अघि बढ्न सुझाव दिएका छन्।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर गरिएको घटनाको भोलिपल्ट चितवन पुगेका लामिछानेले सरकारका कामकारबाहीप्रति पार्टीले आवश्यक सुझाव र खबरदारी गर्न सक्ने स्पष्ट पारेका हुन्।
उनले पार्टीले सरकारलाई घच्घच्याउँदा त्यसलाई पार्टीभित्रको विवाद, विद्रोह वा फुटका रूपमा बुझ्न नहुने बताए। रास्वपाले आफ्ना धारणा निर्भीकताका साथ राखिरहने उनको भनाइ थियो।
‘रास्वपा भनिरहन्छ, रवि लामिछाने भनिरहन्छ। डराएर होइन, कराएर भनिरहन्छ,’ उनले भने।
लामिछानेले लोकतन्त्र कसैको व्यक्तिगत प्रयासबाट नभई लामो संघर्ष, बलिदान र रगतको मूल्यमा प्राप्त भएको स्मरण गराए। स्वतन्त्र प्रेस, मानवअधिकार, अदालत र लोकतान्त्रिक संस्थाहरूको सम्मान गर्नुपर्ने उनको जोड थियो।
लोकतन्त्रभन्दा ठूलो कुरा आफ्नो लागि अरू केही नभएको उल्लेख गर्दै उनले यसको अवमूल्यन गर्ने अधिकार कसैलाई नभएको बताए।
उनले आफूहरूको अभिव्यक्तिलाई सरकारविरोधी गतिविधिका रूपमा नबुझ्न पनि आग्रह गरे। पार्टीले सरकारलाई खबरदारी गर्नु लोकतन्त्रप्रतिको प्रतिबद्धता भएको उनको तर्क थियो।
लामिछानेले सरकारबाट जनताले ठूलो अपेक्षा राखेको भन्दै जनभावना बुझेर काम गर्नुपर्नेमा विशेष जोड दिए। उनले सरकारलाई जनताको अपेक्षाअनुसार जिम्मेवार भएर अघि बढ्नसमेत सुझाव दिएका छन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्