काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त बौद्ध भिक्षुणी आनी छोइङ डोल्माको नेपाली नागरिकतामाथि छानबिन गर्न माग गर्दै राष्ट्रिय जेन्जी नागरिक अभियानले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाएको छ।
अभियानका केन्द्रीय समितिका अभियन्ताहरूले शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेसमक्ष ज्ञापनपत्र बुझाउँदै आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) ले वंशजका आधारमा प्राप्त गरेको नेपाली नागरिकताको विषयमा निष्पक्ष छानबिन गर्न माग गरेका हुन्।
अभियानले आनी छोइङ डोल्माका बुवाआमा तिब्बतको खाम क्षेत्रबाट आएको भन्ने सार्वजनिक अभिव्यक्ति तथा उनको पुस्तक ‘फूलको आँखामा’ उल्लेख भएका विषय र २०४६ सालमा वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेको विवरणबीच प्रश्न उठेको जनाएको छ।
ज्ञापनपत्रमा साविक चपली भद्रकाली गाविस–६ (हाल बूढानीलकण्ठ नगरपालिका–२) का कान्छाबहादुर लामाको छोरीका रूपमा उनको नागरिकता जारी भएको विवरणबारे सत्यतथ्य छानबिन गर्न माग गरिएको छ। कान्छाबहादुर लामाको २०३९ सालमै निधन भएको र उनका वास्तविक छोरा प्रमानसिंह लामा (मगई) ले २०७६ पुसमा यस विषयमा छानबिनका लागि निवेदन दिएको दाबीसमेत अभियानले गरेको छ।
अभियानले आनी छोइङ डोल्माले नागरिकता लिँदा पेस गरेका कागजात तथा विवरण खोजतलास गर्न, यसअघि परेको उजुरीमाथि के-कस्तो कारबाही भएको छ भन्ने जानकारी दिन र नागरिकता प्राप्तिमा झुटा विवरण पेस भएको प्रमाणित भए कानुनबमोजिम कारबाही अघि बढाउन प्रशासनसँग माग गरेको छ।
ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी गैरेले प्राप्त निवेदनका विषयमा आवश्यक सत्यतथ्य छानबिन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको अभियानले जनाएको छ।
अभियानले नागरिकताजस्तो संवेदनशील विषयमा निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन प्रशासनको ध्यानाकर्षण गराएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्