काठमाडौं । रौतहटको गरुडा नगरपालिका–९ गम्हरियामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। प्रहरीका अनुसार २८ वर्षीय गौतमकुमार सहनी ले मङ्गलवार राति करिब १ बजे आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएका थिए। त्यसपछि उनले आफ्नै शरीरमा आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शङ्करप्रसाद आचार्यका अनुसार सहनी केही दिनयता मानसिक तनावमा रहेका थिए। घटनालगत्तै परिवारका सदस्यले उनलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल पुर्‍याएका थिए। अस्पतालमा प्राथमिक उपचारपछि उनको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

डीएसपी आचार्यका अनुसार सहनीको घाँटीदेखि तल शरीरको करिब ३१.५ प्रतिशत भाग जलेको छ। घटनाको कारण र अन्य पक्षबारे जिल्ला प्रहरी कार्यालय रौतहटले थप अनुसन्धान गरिरहेको जनाएको छ. यदि तपाईं वा तपाईंले चिन्ने कोही आत्महत्या वा आत्महानिको सोचसँग संघर्ष गरिरहनुभएको छ भने, कृपया परिवार, विश्वासिला साथीभाइ वा मानसिक स्वास्थ्य सेवासँग तुरुन्त सहयोग लिनुहोस्। समयमै सहयोग माग्नु जीवनरक्षक हुन सक्छ।