काठमाडौं।। राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र विकासमा ध्यान दिनुपर्ने बताएका छन् ।
लोकसेवा आयोगको ७६ औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष र बलिदान गरेका नेपाली जनताको चाहना सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तीव्र विकास, शान्ति र प्रगति भएकाले यसमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।
उनले जनताको अभीष्ट पूरा गर्न आधुनिक समयमा मुलुकको राज्य संयन्त्रलाई समयानुकूल अझ जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन जरुरी रहेको धारणा राखे । प्रविधि र स्मार्ट सेवा प्रवाहमार्फत कर्मचारीतन्त्रले नागरिकको मन जित्न सके लोकतन्त्रमा जनताको हित हुन्छ भन्ने भरोसालाई अभिवृद्धि गर्ने उनले बताए ।
राष्ट्रपति पौडेलले संविधानले अङ्गीकार गरेको समावेशी लोकतन्त्रको मर्म अनुरूप स्थापित योग्यता प्रणालीको रक्षा गर्नु र यसको जगलाई थप मजबुत बनाउनु पर्ने खाँचो अझै रहेको स्पष्ट पारे । उनले आफ्ना कामलाई आधुनिक प्रविधिमा आधारित बनाउँदै कर्मचारी छनौटमा समयसापेक्ष परीक्षण विधिरप्रविधि अवलम्बन गर्दै जानुपर्नेतर्फ लोकसेवा आयोगले विशेष ध्यान दिनुपर्ने बताए ।
राष्ट्रपति पौडेलले आयोगप्रतिको भरोसा र विश्वासलाई अझ थप सुदृढ गर्दै सबल बनाउन निरन्तर प्रयास रहने विश्वास समेत व्यक्त गरे ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्