काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन्।

अवलोकनका क्रममा राष्ट्रपति पौडेलले बाढी प्रभावित तथा पीडित नागरिकसँग भेटघाट गरी उनीहरूका समस्या र गुनासा सुनेका छन्।

राष्ट्रपति पौडेललाई नुवाकोटमा भोटेकोशी बाढीको प्रभाव तथा त्यसबाट भएको क्षतिबारे जिल्ला सुरक्षा समितिले जानकारी गराएको थियो। प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित सुरक्षा समितिका सदस्यहरूले बाढीबाट जिल्लामा भएको धनजनको क्षतिको विवरण प्रस्तुत गरेका थिए।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढीपछि भइरहेको खोज तथा उद्धार, राहत वितरण, पुनःस्थापना र तत्कालीन पुनर्निर्माणका कामबारे समेत राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

राष्ट्रपति पौडेलले नुवाकोटमा बाढी प्रभावित नागरिकलाई राखिएको होल्डिङ सेन्टरको समेत अवलोकन गरेका छन्। त्यहाँ रहेका प्रभावित नागरिकले भोटेकोशीमा आएको अकल्पनीय बाढीबाट भएको क्षति तथा आफूहरूले भोग्नुपरेका समस्याबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

बाढी प्रभावितहरूले खोज तथा उद्धार, राहत र पुनःस्थापनाका कामलाई अझ प्रभावकारी बनाउन सरकार, सहयोगदाता तथा सम्बन्धित सरोकारवालाले थप तदारुकता देखाउनुपर्ने मागसमेत गरेका थिए।

राष्ट्रपति पौडेलले विपद्बाट प्रभावित नागरिकको समस्या समाधान तथा पुनःस्थापनाका लागि भइरहेको कामबारे स्थलगत जानकारी लिँदै प्रभावितहरूको अवस्था बुझ्न नुवाकोट पुगेका हुन्।