काठमाडौं।। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद–२०८३ लाई भव्य र सफल बनाउन हवाई सेवा सहज तथा प्रभावकारी बनाउन वायुसेवा सञ्चालकहरूलाई आग्रह गरेका छन ।

सिंहदरबारस्थित मन्त्रालयमा नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का पदाधिकारी तथा आन्तरिक वायुसेवा सञ्चालकका प्रतिनिधिसँग भएको छलफलमा मन्त्री पोखरेलले खेलकुदका क्रममा खेलाडी, खेलकर्मी तथा खेलप्रेमीहरूको आवतजावत सहज बनाउन आवश्यक समन्वय गर्न सुझाव दिएको हो ।

कर्णाली प्रदेशको सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुदका केही खेल भोलिदेखि सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन भने यही मङ्सिर १६ गते हुनेछ । छलफलका क्रममा मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदलाई प्रतियोगितामा सीमित नराखी राष्ट्रिय महोत्सवका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले प्रतियोगिताको व्यापक प्रचारप्रसार, प्रवर्द्धन, मार्केटिङ तथा ब्रान्डिङमार्फत मुलुकमा खेलकुदको वातावरण निर्माण गर्नुपर्ने बताए।

“राष्ट्रिय खेलकुदलाई नयाँ तरिकाबाट लैजानुपर्छ। मार्केटिङ र ब्रान्डिङ गरी यसैमार्फत मुलुकमा खेलको माहोल बनाउनुपर्छ”, उनले भने “राष्ट्रिय खेलकुदलाई कम्तीमा एसियन र ओलम्पिक गेम्सको स्तरमा पुर्‍याउने लक्ष्यसहित तयारी गर्नुपर्छ । यसलाई एसियन र ओलम्पिक खेलकुदको छनोट प्रतियोगिताका रूपमा समेत हेर्नुपर्छ ।”

मन्त्री पोखरेलले दशौँ राष्ट्रिय खेलकुदको तयारी सन्तोषजनक रहेको उल्लेख गर्दै प्रतियोगितालाई अझ व्यवस्थित र प्रभावकारी बनाउन समयमै समन्वय तथा तयारी गर्नुपर्ने बताए । सुर्खेत, जुम्लालगायत प्रतियोगिता आयोजना हुने गन्तव्यमा खेलाडी तथा खेलप्रेमीको चाप बढ्ने भएकाले आवश्यकताअनुसार उडान व्यवस्थापन गर्न उनले वायुसेवा कम्पनीलाई आग्रह गरे। शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले राष्ट्रिय खेलकुदलाई सफल बनाउन खेल प्रवर्दनका साथै प्रचारप्रसारमा सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिए ।

मन्त्रीका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकारले राष्ट्रिय खेलकुदलाई सफल बनाउन एयरलाइन्सले आवश्यक समन्वय र सहजीकरण गर्नुपर्ने बताए। उनले प्रतियोगितालाई लक्षित गरी आवश्यकताअनुसार खेल आयोजना हुने गन्तव्यमा उडान सङ्ख्या विस्तार गर्न आग्रह गरे।

क्यानका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णले प्रतियोगिता सफल बनाउन हवाई सेवा व्यवस्थित, सहज र प्रभावकारी बनाउन प्राधिकरणले वायुसेवा कम्पनीहरूसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

छलफलमा सहभागी वायुसेवा कम्पनीका प्रतिनिधिले राष्ट्रिय खेलकुद अवधिभर सुर्खेत, जुम्लालगायत गन्तव्यमा हवाई सेवा सहज बनाउन प्रतिबद्धता जनाएका छन् । यात्रुको चाप र आवश्यकताका आधारमा उडान संख्या थप गर्नसमेत आफूहरू तयार रहेको उनीहरूले बताएका छन् ।

हाल सुर्खेतमा बुद्ध एयर र श्री एयरलाइन्सले नियमित उडान गर्दै आएका छन् । सुर्खेतलाई आधार बनाएर तारा एयर र सीता एयरले जुम्लामा सातामा दुई उडान गरिरहेको जानकारी दिए।

त्यस्तै जुम्लामा नेपाल वायुसेवा निगम र समिट एयरका विमानमार्फत हवाई सेवा थप सहज बनाउनुपर्ने विषयमा पनि छलफल भएको छ ।

रासस