काठमाडौं – प्युठानको नौबहिनी गाउँपालिका–५ डामृमा रोकी राखिएको ट्याक्टरमा खेल्ने क्रममा भएको दुर्घटनामा एक ७ वर्षीय बालकको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन्।

भे २ त २०१९ नम्बरको ट्याक्टरमा खेलिरहेका बेला ट्याक्टर एक्कासी ब्याक भई करिब ४०० मिटर तल खसेको थियो। दुर्घटनामा स्थानीय गंगा घर्ती मगरका ७ वर्षीय छोरा कुण्डन घर्ती गम्भीर घाइते भएका थिए। साथै, सोही स्थानका रिमबहादुर बुढाका ७ वर्षीय छोरा पारस बुढा पनि घाइते भएका थिए।

दुवै बालकलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएकोमा बुधबार साँझ चिकित्सकले कुण्डन घर्तीलाई मृत घोषणा गरेका हुन्। घाइते पारस बुढालाई थप उपचारका लागि राति बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले ट्याक्टर चालक नौबहिनी गाउँपालिका–५ निवासी २१ वर्षीय विकास परियार र ट्याक्टर साहुलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।