पत्रकार गिरफ्तारीको प्रयासप्रति अजय सोडारीको आपत्ति, प्रेस स्वतन्त्रताको सम्मान गर्न माग
पत्रकारमाथि भइरहेको धरपकड र सञ्चारगृहमा प्रहरी पुगेर नियन्त्रणमा लिने प्रयासप्रति जेन्जी अभियन्ता अजय सोडारीले गम्भीर आपत्ति जनाएका छन्।
नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्युजका पत्रकार शोभराज बराल पक्राउ परेको तथा नयाँ पत्रिका र दियो पोस्टका पत्रकारलाई समेत पक्राउ गर्ने प्रयास भइरहेको विषयले आफ्नो ध्यानाकर्षण भएको सोडारीले बताएका छन्।
समाचार कक्षमै पुगेर पक्राउ पुर्जीबिनै पत्रकारलाई नियन्त्रणमा लिन खोज्नु प्रेस स्वतन्त्रता र समग्र सञ्चार क्षेत्रको सम्मानमाथिको प्रहार भएको उनको भनाइ छ।
सोडारीले सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति कुनै आपत्ति वा असहमति भए त्यसको निरूपण प्रचलित कानुन र न्यायोचित प्रक्रियाबाट हुनुपर्ने बताएका छन्। समाचारको नियमन तथा अनुगमन गर्ने प्रेस काउन्सिल नेपालजस्ता स्थापित निकाय हुँदाहुँदै प्रहरी सिधै सञ्चारगृहमा पुगेर पत्रकारलाई नियन्त्रणमा लिन खोज्नु स्थापित कानुनी प्रक्रिया र संवैधानिक मर्मविपरीत हुने उनको तर्क छ।
सार्वजनिक चासोका विषयमा सत्य, तथ्य र खोजमूलक समाचार सम्प्रेषण गर्नु पत्रकारको दायित्व भएको उल्लेख गर्दै उनले सार्वजनिक पदमा रहेका व्यक्ति तथा संस्थाका कामकारबाहीमाथि प्रश्न उठाउनु लोकतान्त्रिक अभ्यास र पत्रकारको संवैधानिक अधिकार भएको बताएका छन्।
'लोकतन्त्रमा प्रश्न उठाउनु अपराध होइन,' सोडारीले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।
पत्रकारलाई गिरफ्तारीको त्रास देखाएर आलोचनात्मक आवाज दबाउने प्रयास नगर्न आग्रह गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गरेका छन्।
साथै, पत्रकारमाथि अनावश्यक धरपकड गर्ने, सञ्चारगृहमा छापा मार्ने तथा पत्रकारलाई पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न उनले जोडदार माग गरेका छन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्