लन्डन।। बेलायतका प्रधानमन्त्रीका प्रमुख प्रतिक्षारत उम्मेदवार एन्डी बर्नह्यामले सोमबार आफ्नो बहुप्रतीक्षित आर्थिक एजेन्डा सार्वजनिक गर्दैछन्। केही साताअघि प्रधानमन्त्री केइर स्टार्मरले राजीनामा दिएपछि यो बर्नह्यामको पहिलो प्रमुख नीतिगत घोषणा हुनेछ।
हाल बर्नह्याम स्टार्मरको उत्तराधिकारी बन्ने एकमात्र उम्मेदवार रहेका छन्। यदि थप कुनै उम्मेदवार दर्ता नभएमा उनी मध्य जुलाईमै बेलायतको नयाँ प्रधानमन्त्री बन्ने सम्भावना रहेको छ।
ग्रेटर म्यान्चेस्टरका पूर्व मेयर बर्नह्यामले म्यान्चेस्टरस्थित एक सङ्ग्रहालयमा सम्बोधन गर्दै आफ्नो आर्थिक दृष्टिकोण सार्वजनिक गर्ने कार्यक्रम छ। सरकार सञ्चालनका लागि आफू तयार रहेको सन्देश दिन उनी आर्थिक नीति स्पष्ट रूपमा प्रस्तुत गर्न लागेका हुन्।
व्यवसायमैत्री समाजवादी तथा लेबर पार्टीको ‘सफ्ट लेफ्ट’ धारका नेताका रूपमा चिनिने बर्नह्यामले सरकारको ऋण सीमालाई कायम राख्ने प्रतिबद्धता जनाउँदै बजारलाई आश्वस्त पार्ने प्रयास गरेका छन्। यद्यपि उनले स्थानीय सरकारलाई थप अधिकार हस्तान्तरण, सार्वजनिक सेवामा जनताको नियन्त्रण बढाउने तथा क्षेत्रीय विकासलाई प्राथमिकता दिने नीति अघि सार्ने अपेक्षा गरिएको छ।
बर्नह्यामको मुख्य एजेन्डामध्ये ‘ह्वाइटहल’बाट स्थानीय तहमा निर्णय गर्ने अधिकार हस्तान्तरणलाई प्रमुख रूपमा अघि सारिएको छ। यसअन्तर्गत उनले ‘नम्बर टेन नर्थ’ स्थापना गर्ने प्रस्ताव पनि ल्याउने तयारी गरेका छन्। यसको उद्देश्य केन्द्रबाट सञ्चालन हुने विकास मोडेललाई स्थानीय नेतृत्वमा आधारित आर्थिक विकास प्रणालीले प्रतिस्थापन गर्नु रहेको बताइएको छ।
लेबर पार्टीकी उपनेता लुसी पावेलका अनुसार बर्नह्यामले बेलायतका सबै क्षेत्रका समुदायलाई आफ्नै विकास एजेन्डा अघि बढाउने अधिकार दिन चाहन्छन्। ‘म्यान्चेस्टरवाद’को अवधारणा अघि सार्दै उनले व्यवसायमैत्री समाजवादलाई प्रवर्द्धन गर्ने र नवउदारवादी आर्थिक नीतिको विकल्प प्रस्तुत गर्ने तयारी गरेका छन्।
उनको योजनामा देशको उत्तर क्षेत्रमा थप लगानी आकर्षित गर्ने, केही सरकारी कार्यालय म्यान्चेस्टर सार्ने, यातायात, पानी र ऊर्जाजस्ता सेवामा सार्वजनिक नियन्त्रण विस्तार गर्ने तथा साना व्यवसायलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि समावेश छन्। उनले सांगीतिक कार्यक्रमस्थलका लागि व्यवसायिक कर घटाउने प्रस्तावसमेत अघि सारेका छन्।
बर्नह्याम प्रधानमन्त्री बनेमा अर्थमन्त्रीका रूपमा कसलाई नियुक्त गर्छन् भन्ने विषयलाई पनि बेलायती राजनीतिक र व्यावसायिक वृत्तले चासोका साथ हेरिरहेको छ। यसले उनको सरकारको आर्थिक तथा वैचारिक दिशा निर्धारण गर्ने विश्लेषण गरिएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बर्नह्यामलाई ‘अत्यन्त उदारवादी’ राजनीतिज्ञको संज्ञा दिएका छन्। बर्नह्यामले ‘नर्थ सी’ क्षेत्रमा नयाँ तेल तथा ग्यास उत्खनन विस्तार नगर्ने नीति लिन सक्ने अनुमान गरिएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्