काठमाडौं।।जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन भएको जनाएको छ ।

विभागले आज र बुधबार रातिको समयमा वर्षाको गतिविधि बढ्ने तथा बिहीबारदेखि वर्षा क्रमशः कम हुने जनाएको छ ।

विभागका मौसमविद् रोजन लामिछानेले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा कर्णाली प्रदेशको जाजरकोट आसपासमा १३८ मिलिमिटर वर्षा मापन भएको बताउए ।

“पछिल्लो २४ घण्टामा कोशी प्रदेशका झापा, इलाम र सुनसरीमा भारीदेखि धेरै भारी वर्षा भएको छ”, उनले भने, “इलाम–झापा आसपासको क्षेत्रमा करिब १३० मिलिमिटर तथा विराटनगर आसपास १२५ मिलिमिटर वर्षा मापन भएको छ । पछिल्लो छ घण्टामा कोशी प्रदेशको इलाम–झापा क्षेत्रमा मध्यमदेखि केही स्थानमा भारी वर्षा भएको छ ।”

कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा पनि वर्षा भएको छ भने मधेश प्रदेशको पश्चिमी क्षेत्रमा भने वर्षा नभएको र देशका अधिकांश स्थानमा हल्का वर्षा भएको मौसमविद् लामिछानेले जानकारी दिए

विभागले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी र कर्णाली प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको तराईका केही स्थान तथा मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, कर्णाली प्रदेशका पहाडी भू–भाग, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

आज राति कोशी प्रदेशको पहाडी तथा तराई भूभाग, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र, पहिरोको जोखिम भएका स्थान र सहरी डुबान हुने क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । रासस