आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको उपलब्धता उल्लेखनीय रूपमा बढेको छ। सरकारले सार्वजनिक गरेको तथ्यांकले चिकित्सक तथा नर्सको संख्या अघिल्लो वर्षको तुलनामा वृद्धि भएको देखाएको हो।
सर्वेक्षणअनुसार २०८२ फागुनसम्म नेपाल मेडिकल काउन्सिल र नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका स्वास्थ्यकर्मीका आधारमा प्रतिहजार जनसंख्यामा १.८६ जना चिकित्सक र ४.४२ जना नर्स उपलब्ध रहेका छन्।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा प्रतिहजार जनसंख्यामा १.१ जना चिकित्सक र २.८६ जना नर्स मात्र रहेका थिए। पछिल्लो तथ्यांकले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको विस्तार तीव्र रूपमा भइरहेको संकेत गरेको छ।
सरकारका अनुसार स्वास्थ्य क्षेत्रमा जनशक्ति थपिँदै जाँदा आधारभूत स्वास्थ्य सेवा तथा विशेषज्ञ उपचारमा नागरिकको पहुँचसमेत विस्तार हुँदै गएको छ। ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्ने नीति अनुसार विभिन्न तहमा जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको जनाइएको छ।
आर्थिक सर्वेक्षणले २०८२ फागुनसम्म सरकारी स्वास्थ्य सेवामा डाक्टर, नर्स, अनमी, वैद्य, स्वास्थ्य सहायक तथा महिला स्वास्थ्य स्वयंसेविकासहित कुल १ लाख ४ हजार ७५६ स्वास्थ्य जनशक्ति कार्यरत रहेको जनाएको छ।
सरकारले आगामी दिनमा स्वास्थ्य पूर्वाधार सुदृढ गर्ने, विशेषज्ञ सेवा विस्तार गर्ने तथा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनलाई थप प्राथमिकतामा राख्ने लक्ष्य लिएको उल्लेख गरेको छ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्