नेपालमा मातृ तथा शिशु स्वास्थ्य क्षेत्रमा पछिल्ला वर्षहरूमा उल्लेखनीय सुधार देखिएको छ। सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले मातृ मृत्युदर, नवजात शिशु मृत्युदर तथा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरमा निरन्तर कमी आएको जनाएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य सूचकांकअनुसार स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिलाको संख्या उल्लेख्य रूपमा बढेको छ। नेपाल परिवार स्वास्थ्य सर्वेक्षण १९९६ अनुसार प्रति लाख जीवित जन्ममा ५३९ रहेको मातृ मृत्युदर राष्ट्रिय जनगणना २०७८ सम्म आइपुग्दा घटेर १५१ मा पुगेको छ।

त्यस्तै, सन् २०११ मा प्रति हजार जीवित जन्ममा ३३ रहेको नवजात शिशु मृत्युदर सन् २०२५ मा घटेर १७ मा झरेको सर्वेक्षणमा उल्लेख गरिएको छ। यसले मातृ तथा नवजात शिशु स्वास्थ्य सेवामा सुधार भएको संकेत गरेको सरकारको भनाइ छ।

तथ्यांकअनुसार नेपालीको औसत आयु पनि बढ्दो क्रममा रहेको छ। सन् २०११ मा ६६.६ वर्ष रहेको औसत आयु २०२५ मा ७१.३ वर्ष पुगेको छ। त्यस्तै, कुल प्रजनन दर २.६ बाट घटेर १.९ मा सीमित भएको छ।

गर्भवती महिलाले कम्तीमा चार पटक गर्भ जाँच गराउने दरमा पनि उल्लेख्य वृद्धि भएको छ। सन् २०११ मा ५०.१ प्रतिशत रहेको यस्तो दर २०२५ मा ८८.४ प्रतिशत पुगेको छ। दक्ष प्रसूतिकर्मीको उपस्थितिमा प्रसूति गराउने महिलाको अनुपात पनि ३६ प्रतिशतबाट बढेर ७४ प्रतिशत पुगेको सर्वेक्षणले देखाएको छ।

स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको संख्या उल्लेखनीय रूपमा बढेको छ। सन् २०११ मा ३५.३ प्रतिशत रहेको संस्थागत प्रसूति दर २०२५ मा ९० प्रतिशत पुगेको छ।

बाल स्वास्थ्यतर्फ पूर्ण खोप लगाउने बालबालिकाको अनुपात ८७ प्रतिशतबाट बढेर ९२ प्रतिशत पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ। सरकारले स्वास्थ्य सेवा पहुँच विस्तार, जनचेतना वृद्धि तथा मातृ–शिशु स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै जाँदा स्वास्थ्य सूचकमा सुधार आएको जनाएको छ।