एशियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कन्दाले प्रधानमन्त्री बालेन्द्र शाहसँग काठमाडौंमा भेटवार्ता गर्दै नेपाललाई आगामी वर्षहरूमा करिब २.४ अर्ब अमेरिकी डलर (साढे तीन खर्ब रुपैयाँभन्दा बढी) आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्। उक्त सहयोग नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, लगानी प्रवर्द्धन तथा दिगो विकासलाई गति दिने उद्देश्यका साथ परिचालन गरिने जनाइएको छ।

भेटका क्रममा अध्यक्ष कन्दाले एडीबी र नेपालबीच रहेको ६० वर्ष लामो विकास साझेदारीको स्मरण गर्दै शिक्षा, ऊर्जा, यातायात पूर्वाधार तथा रोजगारीका क्षेत्रमा एडीबीको सहयोगले उल्लेखनीय योगदान पुर्‍याएको बताए। उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई बलियो जनादेशका लागि बधाई दिँदै नेपालको विकास लक्ष्य हासिल गर्न एडीबीले निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरे।

एडीबीले आगामी वर्षहरूमा नेपाल सरकारसँग सहकार्य गर्दै आर्थिक सुधार, निजी क्षेत्रको लगानी प्रवर्द्धन, पूर्वाधार विस्तार तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि बढाउने जनाएको छ। दिगो आर्थिक वृद्धि र समावेशी विकासलाई सहयोग गर्ने उद्देश्यले महत्वाकांक्षी सुधार कार्यक्रमहरूमा समेत एडीबीले समर्थन गर्ने बताइएको छ।

प्रधानमन्त्री शाहले एडीबीको दीर्घकालीन सहयोगप्रति धन्यवाद व्यक्त गर्दै प्राप्त सहयोगलाई नेपालको समृद्धि, आर्थिक विकास तथा जनताको जीवनस्तर उकास्ने कार्यमा प्रभावकारी रूपमा उपयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

यस घोषणालाई नेपालको विकास साझेदारीलाई थप मजबुत बनाउने तथा आगामी वर्षहरूमा आर्थिक गतिविधि विस्तार, लगानी वृद्धि र रोजगारी सिर्जनामा सकारात्मक योगदान पुग्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।