पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट बाहिरिएका छन्। उनले कम्युनिस्ट आन्दोलनलाई वैचारिक तथा राजनीतिक रूपमा पुनर्गठन गर्ने उद्देश्यसहित ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका छन्।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खनालले अभियान औपचारिक रूपमा अघि बढाइएको जानकारी दिएका हुन्। उनका अनुसार शनिबार उनको नेतृत्वमा भएको भेलाले अभियानको आवश्यकता र आगामी कार्यदिशाबारे विभिन्न प्रस्ताव पारित गरेको थियो।

कम्युनिस्ट आन्दोलनमा देखिएका वैचारिक तथा राजनीतिक चुनौतीको समीक्षा गर्दै नयाँ आधार निर्माण गर्न अभियान सञ्चालन गरिएको खनालले बताएका छन्। अभियानमार्फत विभिन्न कम्युनिस्ट समूहबीच वैचारिक तथा राजनीतिक एकताको वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ।

भेलाबाट पारित प्रस्तावमा कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी कार्यदिशाका आधारमा पुनर्गठन तथा पुनर्संरचना गर्दै वैचारिक र राजनीतिक एकताको आधार तयार गर्न सबै कम्युनिस्ट समूहलाई आह्वान गरिएको छ।

खनालले सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी शक्तिलाई एउटै वैचारिक तथा राजनीतिक आधारमा एकताबद्ध गर्दै एकीकृत नेकपा निर्माणको दिशामा अघि बढ्ने बताएका छन्। त्यसका लागि कम्युनिस्ट आन्दोलनका विगतका अनुभव, उपलब्धि, कमजोरी र चुनौतीको गम्भीर समीक्षा आवश्यक रहेको प्रस्तावमा उल्लेख छ।

अभियानले संगठनात्मक पुनर्गठन र एकीकरणको प्रक्रियालाई समेत अघि बढाउने जनाएको छ। विभिन्न कम्युनिस्ट समूह तथा नेताहरूसँग संवाद र सहकार्य गर्दै नयाँ राजनीतिक आधार निर्माण गर्ने अभियानको उद्देश्य रहेको खनाल पक्षले जनाएको छ।

यस अभियानमा नेकपा (माओवादी केन्द्र)बाट यसअघि अलग भएका हरिबोल गजुरेललगायतका नेताहरूले समेत साथ दिएका छन्। खनाल नेतृत्वको अभियानले आगामी दिनमा अन्य कम्युनिस्ट समूह र नेतासँग सहकार्य तथा एकताका लागि पहल गर्ने जनाएको छ।