काठमाडौं।। नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । सञ्चालनअघि गर्नुपर्ने आवश्यक प्राविधिक तयारीअन्तर्गत सुरुङमार्गमा प्रयोग हुने अपरेसनल तथा मेन्टिनेन्स सवारीसाधनको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको हो ।
परीक्षणका क्रममा सुरुङभित्र नियमित निरीक्षण, मर्मतसम्भार, सरसफाइ, आपत्कालीन उद्धार तथा दुर्घटना व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन र उपकरणको कार्यसम्पादन जाँच गरिएको थियो । सुरुङ सञ्चालनका लागि आवश्यक सुरक्षा प्रणाली, भेन्टिलेसन, विद्युत् आपूर्ति, अग्नि नियन्त्रण प्रणाली, सञ्चार, सीसीटीभी निगरानी तथा ट्राफिक व्यवस्थापन प्रणालीको अन्तिम परीक्षणसमेत भइरहेको छ ।
जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको यस परियोजनाको कुल लागत करिब २२ अर्ब रुपैयाँ रहेको छ । यसको अधिकांश हिस्सा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ऋणबाट व्यवस्थापन गरिएको हो । सुरुङमार्ग निर्माणको मुख्य जिम्मेवारी जापानी निर्माण कम्पनी हाज्मा–आन्दो कर्पोरेशनले सम्हालेको हो भने परामर्श सेवामा जापानी कम्पनीहरूको संयुक्त संलग्नता रहेको छ ।
परियोजनाको मुख्य सुरुङको लम्बाइ करिब २।६८ किलोमिटर छ भने उद्धारका लागि छुट्टै आपत्कालीन सुरुङ पनि निर्माण गरिएको छ । सुरुङमार्गसँगै पहुँच सडक, फ्लाइओभर, पुल तथा अन्य सहायक संरचनाहरू समेत बनेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते यसको शिलान्यास गरेका थिए । २०७६ सालमै निर्माण कार्य सुरु भए पनि कोभिड–१९ महामारी, जग्गा अधिग्रहण, प्राविधिक चुनौती तथा अन्य व्यवस्थापकीय कारणले परियोजना सम्पन्न हुन केही ढिलाइ भएको थियो । हाल यसको निर्माण कार्य लगभग सकिएर अन्तिम सञ्चालनको तयारी भइरहेको छ ।
सुरुङमार्ग सञ्चालनमा आएपछि सुरुवाती चरणमा निश्चित मापदण्डअनुसार सवारीसाधनलाई प्रवेश दिइनेछ । सुरुङभित्र गति सीमा, सवारीबीचको दूरी, लेन अनुशासन तथा सुरक्षा मापदण्डको कडाइका साथ पालना गराइनेछ । सुरुङको सञ्चालन, निगरानी र आपत्कालीन व्यवस्थापन अत्याधुनिक नियन्त्रण केन्द्रबाट गरिने व्यवस्था मिलाइएको छ ।
नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यका प्रवेश गर्ने तथा बाहिरिने यात्रु र मालवाहक सवारीको आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ । यसले नागढुंगा सडकखण्डमा हुने लामो ट्राफिक जाम न्यूनीकरण गर्नुका साथै यात्राको समय, इन्धन खपत र सवारी सञ्चालन लागत घटाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्