२०८३ साल जेठ १९ गते मंगलबार अधिक जेठ कृष्ण पक्षको द्वितीया तिथि परेको छ। हिन्दू धर्मशास्त्रमा मंगलबारलाई भगवान श्रीगणेशको विशेष दिनका रूपमा लिइन्छ। यस दिन श्रद्धापूर्वक पूजा, अर्चना तथा व्रत बस्दा सुख, शान्ति, समृद्धि र मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ।
हिन्दू परम्पराअनुसार कुनै पनि शुभ कार्यको प्रारम्भ गर्नुअघि सर्वप्रथम भगवान गणेशको पूजा गरिन्छ। उनलाई विघ्नहर्ता, बुद्धि र ज्ञानका देवता तथा सफलताको प्रतीक मानिन्छ। त्यसैले मंगलबार शुद्ध मनले गणेश भगवानको आराधना गर्दा जीवनका विभिन्न बाधा–अवरोध हट्ने विश्वास गरिन्छ।
गणेश पूजाको विधि
धर्मशास्त्रमा गणेश पूजाको विस्तृत विधि उल्लेख गरिएको छ। पूजामा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गन्ध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, ताम्बूल, दक्षिणा, आरती र परिक्रमा समावेश हुन्छन्। पूजा सुरु गर्नुअघि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्ने मान्यता छ।
मंगलबार यी काम नगर्नुहोस्
धार्मिक मान्यताअनुसार मंगलबार केही कार्य गर्न निषेध गरिएको छ। यस दिन कुखुरा वा अन्य पन्छीको हत्या गर्नु अशुभ मानिन्छ। माछा तथा मासु सेवन गर्दा आर्थिक तथा मानसिक समस्या बढ्न सक्ने विश्वास छ। त्यस्तै मदिरा सेवनले क्रोध र नकारात्मक सोच बढ्ने धार्मिक मान्यता रहेको छ।
किन प्रिय छ गणेशलाई लड्डु ?
गणेश भगवानलाई सबैभन्दा प्रिय प्रसाद लड्डु मानिन्छ। पद्मपुराणमा वर्णित कथाअनुसार एकपटक माता पार्वतीले देवताहरूबाट प्राप्त दिव्य लड्डु आफ्ना पुत्र गणेश र कुमारमध्ये योग्यलाई दिने निर्णय गरिन्। सबै तीर्थस्थलको भ्रमण गरेर पहिले फर्किनेले लड्डु पाउने शर्त राखिएको थियो।
कुमार मयुरमा चढेर तीर्थयात्रामा निस्किए भने गणेशले आफ्ना माता–पिताको परिक्रमा गरी उनीहरूको पूजा गरे। त्यसपछि पार्वतीले मातापिताको सेवा र सम्मान सम्पूर्ण तीर्थयात्राभन्दा श्रेष्ठ रहेको बताउँदै लड्डु गणेशलाई प्रदान गरिन्। यही कारण लड्डु मातापिताप्रतिको भक्ति र सम्मानको प्रतीक मानिन्छ।
गणेशका विभिन्न नाम र महत्व
‘ग’ को अर्थ बुद्धि र ‘ण’ को अर्थ ज्ञान भएकाले गणेशलाई बुद्धि र ज्ञानका देवता मानिन्छ। उनको अर्को नाम ‘विघ्नेश्वर’ हो, जसको अर्थ विघ्नबाधा हटाउने देवता भन्ने हुन्छ। त्यस्तै ‘विनायक’ नामले उनलाई सर्वोच्च नायकका रूपमा चिनाउँछ।
धार्मिक विश्वासअनुसार गणेश भगवान गुण, शक्ति, सफलता र शुभताको प्रतीक हुन्। त्यसैले विद्यार्थी, व्यवसायी तथा नयाँ कामको सुरुवात गर्ने व्यक्तिहरूले विशेष रूपमा गणेशको पूजा गर्ने परम्परा रहिआएको छ।
गणेश भगवानलाई प्रसन्न पार्ने ११ मन्त्र
१. श्री गणेशाय नमः
२. ॐ श्री गणेशाय नमः
३. गं गणपतये नमः
४. ॐ गं गणपतये नमः
५. ॐ गं ॐ गणाधिपतये नमः
६. ॐ सिद्धि विनायकाय नमः
७. ॐ गजाननाय नमः
८. ॐ एकदंताय नमो नमः
९. ॐ लम्बोदराय नमः
१०. ॐ वक्रतुंडाय नमो नमः
११. ॐ गणाध्यक्षाय नमः
धार्मिक मान्यताअनुसार यी मन्त्र श्रद्धापूर्वक जप गर्दा भगवान गणेश चाँडै प्रसन्न हुने र जीवनमा सुख, शान्ति तथा सफलता प्राप्त हुने विश्वास गरिन्छ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्