मधेश प्रदेश सरकार गठनबारे दलहरूबीच सघन छलफल भइरहेको छ : प्रचण्ड

१६ कात्तिक, महोत्तरी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा नयाँ सरकार गठन तथा प्रदेश सरकारको स्थायित्वका विषयमा विभिन्न राजनीतिक दलहरूबीच सघन छलफल भइरहेको बताएका छन्।

पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुन बर्दिबास पुगेका संयोजक दाहालले सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकार गठनका विषयमा दलहरूबीच विभिन्न विकल्प खुला राखेर संवाद भइरहेको जानकारी दिएका हुन्।

उनले लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दलहरूबीच सहकार्य र समन्वय गर्दै मधेश प्रदेश सरकारलाई स्थायित्व प्रदान गर्ने विषयमा छलफल भइरहेको बताए। यस विषयमा चाँडै नै निष्कर्षमा पुग्ने उनको विश्वास छ।

प्रचण्डले भने, ‘हामी लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दल मधेश सरकारको स्थायित्वका लागि सघन छलफलमा छौँ। अब चाँडै यसबारे निष्कर्षमा पुग्नेछौँ।’

उनका अनुसार नेपाली कम्युनिस्ट पार्टीले सञ्चालन गरिरहेको राष्ट्रिय जागरण अभियान केवल पार्टीको आन्तरिक गतिविधिमा मात्र सीमित नभई लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक शक्तिहरूबीच आपसी सम्बन्ध, सहकार्य र समन्वय विस्तार गर्ने उद्देश्यसँग पनि जोडिएको छ।

संयोजक दाहालले राष्ट्रिय जागरण अभियान पार्टीको आन्तरिक संगठनलाई व्यवस्थित, सुदृढ र सक्रिय बनाउने मुख्य उद्देश्यसहित सञ्चालन भइरहेको स्पष्ट पारे। यही अभियानका क्रममा अन्य राजनीतिक दलहरूसँगको सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा राजनीतिक मुद्दामा सहकार्य गरेर अघि बढ्ने पार्टीको रणनीति रहेको उनको भनाइ छ।

मधेश प्रदेश सरकार गठनका विषयमा विभिन्न राजनीतिक दलहरूबीच भइरहेको छलफलले आगामी राजनीतिक समीकरण कस्तो बन्ने भन्ने चासो बढिरहेका बेला प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।