आज घटस्थापनासँगै नेपालीहरूको महान् पर्व बडा दसैँ सुरु भएको छ। घरघरमा जमरा राखेर दसैँको स्वागत गरिरहँदा सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी, आफन्तजन तथा मेरो घरपरिवारमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

तर यस वर्षको दसैँ मनमा पहिलेझैँ खुसी बोकेर आएको छैन। देशका विभिन्न ठाउँमा प्राकृतिक विपत्तिले दिएको पीडा, भोटेकोसीको विनाशकारी बाढीले निम्त्याएको दुःख, ज्यान गुमाएका नागरिकका परिवारको आँसु र घाइतेहरूको पीडाले हरेक नेपालीको मन भारी बनाएको छ। कति घरमा दसैँको तयारी हुनुपर्ने ठाउँमा शोक छ, कति आमाका आँखामा छोराछोरी फर्किने आशा छ, कति बालबालिका आफ्ना अभिभावकको बाटो हेरेर बसेका छन्। यस्तो अवस्थामा दसैँको खुसी सबैका लागि समान हुन सक्दैन।

त्यसमाथि लाखौँ नेपाली दाजुभाइ तथा दिदीबहिनी आफ्नो परिवारको खुसीका लागि परदेशमा पसिना बगाइरहनुभएको छ। आफूले दुःख सहेर भए पनि घरमा पैसा पठाउने, आमाबुवाको औषधि किनिदिने, छोराछोरीको पढाइ खर्च जुटाउने र परिवारको मुहारमा मुस्कान ल्याउने सपना बोकेर कति नेपाली विदेशमा दिनरात खटिनुभएको छ। तर दसैँ आउँदा त्यही परिवारसँग बसेर एक छाक खाना खाने अवसरसमेत सबैले पाउनुभएको छैन।

कसैको घरमा छोरा छैन, कसैको घरमा छोरी छैन, कसैका आमाबुवा वृद्ध अवस्थामा छोराछोरीको बाटो हेरेर बस्नुभएको छ। फोनमा ‘दसैँको शुभकामना’ भन्दै कुरा गर्दा ओठमा मुस्कान देखिए पनि मनभित्र कति पीडा लुकेको हुन्छ, त्यो आँसु पुछ्दै फोन राख्ने मान्छेलाई मात्र थाहा हुन्छ।

आज म एउटा कुरा आफ्नै जीवनबाट भन्न चाहन्छु।

२०७१ सालको दसैँ आज पनि मेरो मनमा ताजै छ। त्यो बेला मसँग दसैँ मनाउन जम्मा ५०० रुपैयाँ मात्र थियो। आजको जस्तो धेरै पैसा खर्च गर्ने अवस्था थिएन। न त मनले चाहेका सबै कुरा किन्न सकिन्थ्यो, न त अरूले जस्तो भव्य रूपमा दसैँ मनाउन सकिन्थ्यो। तर त्यही पाँच सय रुपैयाँ बोकेर पनि मैले दसैँ मनाएको थिएँ। त्यो समय सम्झँदा आज पनि मन भावुक हुन्छ।

त्यतिबेला थोरै पैसा थियो, तर मनमा आशा थियो। जीवनमा केही गर्ने सपना थियो। आज फर्केर हेर्दा लाग्छ—जीवन भनेको सधैँ आफूले चाहेजस्तो कहाँ हुँदो रहेछ र! कहिले अभाव हुन्छ, कहिले संघर्ष हुन्छ, कहिले आफ्नै मनका रहरहरू मारेर अघि बढ्नुपर्छ। कहिले अरूको खुसीका लागि आफ्नो खुसी त्याग्नुपर्छ। तर समय सधैँ एउटै रहँदैन। दुःखका दिन पनि बित्छन्, अभावका रातपछि उज्यालो बिहान पनि आउँछ।

त्यसैले आज दसैँमा धेरै खर्च गर्न नसक्नेहरूलाई मेरो एउटा सानो अनुरोध छ—मन सानो नबनाउनुहोस्। तपाईंको खल्तीमा पैसा कम होला, घरमा मीठा परिकार नहोलान्, नयाँ लुगा किन्ने अवस्था नहोला। तर त्यसले तपाईंको दसैँको खुसी खोस्न नदिनुहोस्। घरमा जे पाक्छ, परिवारसँग बसेर मिठो मानेर खानुहोस्। आमाबुवाको अनुहारमा मुस्कान ल्याउनुहोस्। छोराछोरीलाई माया दिनुहोस्। दुःखमा पनि एकअर्काको हात समात्नुहोस्।

किनकि दसैँको वास्तविक खुसी थालमा कति परिकार छन् भन्ने कुरामा होइन, त्यो थाल वरिपरि आफ्ना कति जना प्रियजन छन् भन्ने कुरामा हुन्छ।

हामीमध्ये धेरैले खुसीलाई पैसासँग तुलना गर्न थालेका छौँ। नयाँ लुगा, महँगा सामान, ठूलो भोज र देखावटी खर्चलाई दसैँको पहिचान बनाउन थालेका छौँ। तर एकपटक सोचौँ त—जसका आमाबुवा साथमा हुनुहुन्न, जसले आफ्ना प्रियजन गुमाउनुभएको छ, जसको घर बाढीले बगाएको छ, उहाँहरूलाई धनसम्पत्तिभन्दा पहिले के चाहिएको होला? सायद परिवारको साथ, कसैको सहानुभूति र फेरि जीवन सुरु गर्न सक्ने आशा।

त्यसैले आफ्ना आमाबुवालाई दुःख नदिनुहोस्। दसैँ मनाउनकै लागि ऋणको भारी नबोक्नुहोस्। उहाँहरूले आफ्नो जीवनका कति रहर त्यागेर हामीलाई हुर्काउनुभयो, हाम्रो भविष्य बनाउन कति दुःख गर्नुभयो भन्ने कुरा नबिर्सनुहोस्। हामी ठूलो मान्छे बन्ने दौडमा लागिरहँदा कतै आफ्ना आमाबुवालाई एक्लो त बनाइरहेका छैनौँ? हामीले संसार जित्ने सपना देखिरहँदा कतै आफ्नै घरका दुई मुटुलाई रुवाइरहेका त छैनौँ?

आमाबुवाको आशीर्वाद लिनुहोस्। उहाँहरूसँग केही समय बसेर कुरा गर्नुहोस्। उहाँहरूको हात समातेर ‘तपाईंहरू हुनुहुन्छ, त्यसैले म छु’ भन्न सक्नुभयो भने त्योभन्दा ठूलो दसैँको उपहार अरू के होला र?

आज बूढीगण्डकीमा आएको बाढीले फेरि नेपाली मनलाई झस्काएको छ। विपत्तिमा परेका परिवारका घरमा पनि दसैँ आउँछ, तर त्यहाँ खुसीभन्दा पहिले पीडा पुग्छ। त्यसैले यसपालि हामीले आफ्नो घरमा दसैँ मनाउँदा ती परिवारलाई पनि सम्झौँ। सक्नेले सहयोग गरौँ, दुःखमा परेकालाई साथ दिऔँ र मानवीयता जीवित राखौँ।

ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। विपत्तिमा परेका सबै नागरिकले छिट्टै सुरक्षित जीवनमा फर्किन सकून् भन्ने कामना गर्दछु।

अन्त्यमा, मेरो जीवनले मलाई सिकाएको एउटा कुरा छ—खुसी हुन धेरै पैसा चाहिँदैन, मनमा सन्तोष र साथमा आफ्ना मान्छे भए पुग्छ। पाँच सय रुपैयाँले दसैँ मनाएको त्यो दिनले मलाई आज पनि सम्झाउँछ कि जीवनमा पैसाभन्दा ठूलो कुरा सन्तोष, परिवारको माया र कठिन समयमा पनि नहार्ने हिम्मत रहेछ।

यो दसैँमा कसैको आँसुको कारण नबनौँ, कसैको खुसीको कारण बनौँ। कसैलाई अपमान होइन, सम्मान दिऔँ। कसैको अभावको मजाक होइन, सम्भव भएसम्म सहयोग गरौँ। किनकि भोलि समयले हामीलाई पनि त्यही ठाउँमा पुर्‍याउन सक्छ, जहाँ आज अरू कोही उभिएको छ।

सबैको घरमा खुसी फर्कियोस्। विदेशमा रहेका नेपाली आफ्ना परिवारसँग चाँडै भेटिन पाऊन्। आमाबुवाका आँखा खुसीले रसाऊन्, दुःखीका मनमा आशा पलाओस् र विपत्तिमा परेका परिवारको जीवनमा फेरि उज्यालो छाओस्।