कुलेखानी जलाशयको सतह बढेपछि काठमाडौं जोड्ने सडक १२ घण्टा बन्द गरिने

लगातारको वर्षासँगै बाढी तथा पहिरोको जोखिम बढेपछि मकवानपुर प्रशासनले काठमाडौं जोड्ने एक प्रमुख सडकखण्डमा १२ घण्टाका लागि सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म भैंसे–भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौं जोड्ने सडकखण्डमा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउने जनाएको हो।

बंगालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभावका कारण देशभर वर्षा भइरहेको छ। निरन्तरको वर्षाले बाढी तथा पहिरोको जोखिम बढाउनुका साथै कुलेखानी जलाशयको सतहसमेत तीव्र गतिमा बढ्न थालेपछि यात्रुको सुरक्षालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए।

नेपाल विद्युत् प्राधिकरणको कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार शनिबार दिउँसो १२ बजे जलाशयको सतह १ हजार ५२८.१५ मिटर पुगेको थियो। पानीको बहाव र जलसतह बढ्ने क्रमलाई हेर्दा साँझ ४ बजेसम्म सतह १ हजार ५२९ मिटर पुग्न सक्ने अनुमान गरिएको थियो।

जलाधार क्षेत्रमा थप भारी वर्षा भए जलाशयको सुरक्षा र पानीको सतह नियन्त्रणमा राख्न बाँधका मुख्य गेट खोल्नुपर्ने अवस्था आउन सक्ने जलविद्युत् केन्द्रले जनाएको छ। गेट खोल्नुपरेमा सिस्नेरी खोला तथा बागमती नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव अचानक बढ्न सक्ने जोखिम छ।

रातिको समयमा सम्भावित बाढी तथा पहिरोबाट हुन सक्ने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सडक बन्द गर्ने निर्णय गरिएको प्रशासनले स्पष्ट पारेको छ।

प्रशासनले तोकिएको समयसम्म उक्त सडकखण्डमा यात्रा नगर्न तथा यात्रा सुरु गर्नुअघि सडकको अवस्था र सम्बन्धित निकायबाट जारी सूचनाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।