काठमाडौं । नेपाली चलचित्रकी चर्चित कलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ।
उनका सहकर्मी तथा कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत चलचित्रको सुटिङकै क्रममा दीपाश्रीलाई ब्रेन ट्युमर भएको पत्ता लागेको जानकारी दिएका हुन्।
गिरीका अनुसार स्वास्थ्य समस्या देखिएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था बनेको थियो। उपचारका लागि भारत जान सुझाव आए पनि अन्ततः नेपालमै न्युरोसर्जन डा. वसन्त पन्तको नेतृत्वमा शल्यक्रिया गर्ने निर्णय गरिएको थियो।
माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा गरिएको शल्यक्रिया सफल भएको गिरीले बताएका छन्। उनका अनुसार दीपाश्री अहिले आईसीयुबाट जनरल वार्डमा सरेर स्वास्थ्यलाभ गरिरहेकी छन्।
गिरीले उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्दै दीपाश्रीको शीघ्र स्वास्थ्यलाभका लागि शुभेच्छा र प्रार्थना गरिदिन सबै दर्शक तथा शुभचिन्तकलाई आग्रह गरेका छन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्