काठमाडौं — काठमाडौंको बालाजुमा बसमा आगलागी हुँदा दुई जना घाइते भएका छन्।
आइतबार राति पौने १० बजे काठमाडौं महानगरपालिका–१६, माछापोखरी चोकस्थित बुद्ध मल पछाडिको खोला करिडोरमा पार्किङमा रहेको बसमा आगलागी भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार नारायणी यातायातको बा ३ ख ५०४३ नम्बरको बसमा अचानक आगलागी भएको थियो।
आगलागी हुँदा बसका चालक धादिङ ज्वालामुखी गाउँपालिका–३ का ३१ वर्षीय सुरेश अर्याल र सहचालक नीलकण्ठ गाउँपालिका–२ का २३ वर्षीय राजेश परियार बसभित्रै थिए।
आगलागीबाट चालक सुरेशको अनुहार, हात र खुट्टामा जलेको छ। त्यस्तै, सहचालक राजेशको दाहिने हात र पन्जामा चोट लागेको छ।
घाइते दुवै जनालाई सुरुमा जनमैत्री अस्पताल बालाजु लगिएको थियो। त्यसपछि थप उपचारका लागि राति कीर्तिपुर बर्न अस्पतालमा रिफर गरिएको थियो।
बसमा आगो लागेपछि बालाजु औद्योगिक क्षेत्रको दमकल, टोखा नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा राति सवा १० बजे आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीको कारण खुल्न बाँकी रहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्