जापानमा रहेका नेपाली विद्यार्थीहरूलाई काम लगाइदिने र वर्किङ भिसा मिलाइदिने भन्दै एक नेपालीले दर्जनौँ विद्यार्थीलाई ठगी गरेको आरोप लागेको छ।
नुवाकोट घर भएका र हाल जापानको टोकियोमा बस्दै आएका प्रदिप भट्टले कलेज पास गरेका विद्यार्थीहरूलाई फर्जी कागजात देखाएर पैसा असुली गरेपछि फरार भएको पीडितहरूको दाबी छ।
टोकियोका विभिन्न क्याम्पसबाट ग्राजुएसन गरेका विद्यार्थीहरूलाई उनले वर्किङ भिसा र काम लगाइदिने भन्दै प्रतिविद्यार्थी करिब ३ लाख जापानी येन असुल गरेको आरोप छ।
पीडित विद्यार्थीहरूका अनुसार भट्टले जापानी वकिलमार्फत कम्पनी खोजेर भिसा परिवर्तन गरिदिने भन्दै विश्वास दिलाएका थिए। तर पछि न त काम दिलाए, न त पैसा फिर्ता दिए।
विद्यार्थीहरूले आफ्नो कागजात रोकिएको, अन्य एजेन्टमार्फत प्रक्रिया गर्न पनि नदिएको र भिसा समय सकिन लाग्दा अन्तिम समयमा आफैंले वैकल्पिक बाटो अपनाउनुपरेको बताएका छन्।
कतिपय विद्यार्थीहरूले उनलाई सम्पर्क गर्दा विभिन्न बहाना बनाउने, स्टेशनहरूमा बोलाएर अल्झाउने र मानसिक तनाव दिने गरेको आरोप पनि लगाएका छन्।
पीडितमध्ये केहीले भट्टले ४० लाखभन्दा बढी रुपैयाँ ठगी गरेको दाबी गरेका छन्। उनीहरूले फर्जी अफर लेटर र नक्कली कागजातसमेत दिएको आरोप लगाएका छन्।
प्रहरीमा समेत उजुरी पुगेपछि केही समय पैसा फिर्ता दिने कागज गरे पनि पछि फेरि ठगी जारी राखेको विद्यार्थीहरूको भनाइ छ।
विद्यार्थीहरूले जापानस्थित नेपाली संघ–संस्था तथा दूतावाससँग पनि सहयोग मागेका छन्।
टोकियोस्थित नेपाली दूतावासले जापानमा विद्यार्थीहरू ठगीको समस्या बारम्बार आउने गरेको भन्दै सचेत रहन आग्रह गरेको छ। दूतावासका अनुसार जापान आउँदा विद्यार्थीहरूले ठूलो शुल्क तिर्ने र झूटा प्रलोभनमा पर्ने समस्या देखिएको छ।
दूतावासले यस्तो ठगी प्रकरणमा नेपालमै कानुनी उजुरी गर्न र जापानमा भएको घटनामा स्थानीय प्रहरीमार्फत प्रक्रिया अघि बढाउन सुझाव दिएको छ।
हाल पीडित विद्यार्थीहरू न्यायको माग गर्दै सम्बन्धित निकायको सहयोगको प्रतीक्षामा रहेका छन्।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्