काठमाडौं।। अर्जेन्टिना र स्पेनबिच हुन गइरहेको विश्वकप फुटबलको फाइनलअघि एउटा रोचक र अचम्मलाग्दो तथ्यका बारेमा थाहा पाउनुहोस्। यो फोटो आजभन्दा झन्डै १९ वर्षअघि लिइएको हो। युनिसेफको एउटा कार्यक्रमका लागि लियोनेल मेसीलाई अनुबन्ध गरिएको थियो ।

उनलाई स्पेनको माटारो गाउँको एउटा परिवारसँग जोडिएको थियो। त्यतिबेला उनी स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर थिए। युनिसेफको सोही परोपकारी कार्यक्रमअन्तर्गत मेसी र माटारो गाउँका एक शिशुलाई बार्सिलोनाको ‘क्याम्प नोउ’ रङ्गशालाको ड्रेसिङ रुममा भेट गराइयो, जहाँ एउटा ५ महिनाको बच्चा आधा पानी भएको प्लास्टिकको बाटामा बसाइएको थियो। त्यो ५ महिनाको बच्चालाई मेसीले नुहाइदिए अनि काखमा राखेर खेलाए। यो संयोग हो या भाग्यरेखा!

आज त्यही बच्चा तिनै मेसीका विरुद्धमा विश्वकप फाइनलमा स्पेनको टोलीबाट मैदानमा उत्रिँदै छ र उनको नाम हो लामिन यमल। ५ महिनाको हुँदा मेसीले बाटामा राखेर नुहाइदिएको त्यो बच्चा संयोगले उनै मेसीलाई फाइनलमा चुनौती दिँदै छ। १९ वर्षअघि लिइएको सो तस्बिर आज संसारभर भाइरल बनेको छ । धेरै फुटबलप्रेमीलाई यो फोटोले भावुक पनि बनाइदिएको छ।

झन्डै २० वर्षअघि मेसीले नुहाइदिएका ती बच्चा आज विश्वकपको फाइनलमा उनकै प्रतिस्पर्धी बनेर उभिएका छन्। सोमबार बिहान पौने १ बजे हुने ऐतिहासिक फाइनलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र स्पेन भिड्ने पक्का भएको छ। एकातिर चालु विश्वकपमै ८ गोल गरेर सर्वकालिक कीर्तिमान बनाएका मेसी छन् भने अर्कोतिर पूरै प्रतियोगितामा जम्मा १ गोल खाएको स्पेनका युवा यमल छन्। फुटबल इतिहासकै यो सबैभन्दा दुर्लभ संयोगले फाइनललाई झनै रोमाञ्चक बनाएको छ।

यो फाइनल खेल फुटबल इतिहासमै एक ऐतिहासिक मोड बन्ने देखिएको छ। अर्जेन्टिनी लेजेन्ड लियोनेल मेसी र स्पेनका युवा यमल पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा आमनेसामने हुँदै छन्। रोचक कुरा के छ भने, १९ वर्षअघि एउटा च्यारिटी कार्यक्रममा यमललाई मेसीले नुहाइदिइरहेको तस्बिर केही पहिले भाइरल बनेको थियो।

उक्त तस्बिर वर्षौँसम्म गुमनाम थियो। तर सन् २०२४ को युरो कपका दौरान यमलका बुबाले सामाजिक सञ्जालमा ‘दुई लेजेन्डको सुरुआत’ भन्दै यो फोटो सेयर गरेका थिए। त्यसपछि यसले विश्वभर चर्चा पाएको थियो। उक्त फोटो सन् २००७ को डिसेम्बरमा स्पेनको बार्सिलोनास्थित ‘क्याम्प नोउ’ रङ्गशालाको ड्रेसिङ रुममा खिचिएको थियो। अहिले त्यही बच्चा र फुटबलका महान् खेलाडी मेसी विश्वकपको उपाधिका लागि एकअर्काविरुद्ध मैदानमा उत्रिनेछन्।

फुटबलको दुनियाँमा सर्वकालीन महान् मानिने मेसी र युवा स्टार लामिन यमलबिचको रोचक संयोगले सबैलाई चकित पारेको छ। यमलका बुबा मुनिर नासराउई (३४ वर्ष) मेसी (३९ वर्ष) भन्दा ५ वर्षले कान्छा छन्। सन् २००७ मा युनिसेफको क्यालेन्डरका लागि २० वर्षीय मेसीले ५ महिनाका शिशु यमललाई नुहाइरहेको ऐतिहासिक तस्बिर केही समयअघि भाइरल बनेको थियो। मेसीले क्याटालान दैनिक ‘डिएरियो स्पोर्ट’ र युनिसेफले आयोजना गरेको एक परोपकारी क्यालेन्डरका लागि फोटोसुट गरेका थिए। त्यही कार्यक्रमका लागि बार्सिलोनानजिकैको माटारोमा बस्ने यमलको परिवार स्थानीय चिट्ठा प्रणालीमार्फत आफ्नो शिशुलाई बार्सिलोनाका स्टार खेलाडी मेसीसँग फोटो खिचाउने अवसर जित्न सफल भएको थियो।

फोटोग्राफर जोआन मोनफोर्टका अनुसार मेसी त्यतिबेला निकै लजालु थिए र पाँच महिनाका शिशु लामिन यमललाई कसरी समाउने भन्नेमा अन्योलमा परेका थिए। त्यसपछि यमलकी आमाले सहयोग गरेपछि मेसीले शिशु यमललाई नुहाइरहेको ऐतिहासिक तस्बिर खिचिएको थियो। यी दुईबिच अरू पनि धेरै समानता छन्। दुवै बायाँ खुट्टाले खेल्ने राइट विङ्गर हुन् र ला मासिया एकेडेमीबाटै उदाएका हुन्। दुवैले १९ नम्बर जर्सीमा रियल म्याड्रिडविरुद्ध पहिलो व्यावसायिक गोल गरेका थिए।