काठमाडौं । जेन्जी अभियन्ता अजय सोडारीले इनम सापकोटा प्रकरणमा निष्पक्ष छानबिनको सुरुवात प्रधानमन्त्री बालेन्द्र शाह र उनका प्रमुख सल्लाहकार कुमार बेनबाटै हुनुपर्ने माग गरेका छन्।
उनले सार्वजनिक भएका च्याट, तस्बिर तथा विभिन्न व्यक्तिका अभिव्यक्तिले सरकार, प्रहरी नेतृत्व र न्यायालयसँग जोडिएका गम्भीर प्रश्न उठाएको बताएका छन्।
सोर्डारीले प्रधानमन्त्रीका विशेष दूतका रूपमा प्रस्तुत भएको भनिएका इनम सापकोटाको विभिन्न शक्ति केन्द्रका व्यक्तिहरूसँगको सम्बन्धबारे स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन्। साथै, सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग जोडिएका घटनाक्रमको समेत निष्पक्ष अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ।
सुशासन र विधिको शासनको प्रतिबद्धता जनाएको सरकारले आफूमाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने उल्लेख गर्दै उनले अधिकारसम्पन्न न्यायिक छानबिन आयोग वा संसदीय समिति गठन गर्न माग गरेका छन्।
उनले प्रधानमन्त्री, प्रमुख सल्लाहकार, मन्त्री, प्रहरी नेतृत्व, न्यायाधीश तथा सम्बन्धित सबै व्यक्तिको भूमिकामाथि कानुनी दायराभित्र रहेर निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्।
अजय सोडारीले सार्वजनिक भएका आरोप र विवरणको स्वतन्त्र पुष्टि तथा कानुनी परीक्षण हुनुपर्नेमा जोड दिएका छन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्