काठमाडौं।। मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने उदाहरण बनेको छ इन्जिनियर कुमार लामिछाने ।
काठमाडौं नागार्जुन नगरपालिका–६ रामकोट, डाँडापौवामा गाई तथा भैँसीपालन गरी मासिक रु १५ लाख आम्दानी गरेर इन्जिनियर लामिछाने समाजमा उदाहरणीय बन्न सफल भएको छ ।
गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका सिभिल इन्जिनियर लामिछानेले २०७७ साल जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको स्थापना गरी सो पेशा अङ्गाल्दै आएको हो ।
उनले रु १० करोड लगानीसहित मासिक रु एक लाखका दरले जम्मा छ रोपनी जग्गा भाडामा लिई गाई तथा भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएको जानकारी दिए । सुरुमा ३० वटा भैँसीबाट व्यवसाय सञ्चालन गरेका लामिछानेको गोठमा अहिले २०० गाई र ५० वटा भैँसी रहेका छन् ।
“इन्जिनियर भएपछि निर्माणसँग सम्बन्धित काम गर्थें, सात वर्षदेखि जीवन साथी इन्जिनियर सङ्गीतासँगको सहयोग र सहकार्यमा ‘इन्जिनियरिङ’ पेसासँगै गाई तथा भैँसीपालन व्यवसाय गरेको हुँ । यस व्यवसायबाट केहीले रोजगारी पाएका छन् भने आम्दानी पनि राम्रै छ,” उनले भनेइन्जिनियर लामिछानेको गोठबाट हाल दैनिक एक हजार २०० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूधमध्ये केही दुध विकास संस्थान (डिडिसी) र नमूना डेरी तथा बाँकी दुध उपत्यकाका विभिन्न डेरीहरुमा बिक्रीवितरण हुँदै आएको उनले जानकारी दिए।
लामिछानेका अनुसार हाल भैँसीको दूधको मूल्य प्रतिलिटर रु १७० र गाईको रु १०० छ । गाई र भैँसीको दुध दुहुन मेसिन जडान गरिएको छ । उनको फार्ममा हाल प्रतक्ष एवं अप्रतक्ष रुपमा ५० कर्मचारी कार्यरत छन् ।
दूध बिक्रीबाट मासिक रु ४५ देखि ५० लाख आम्दानी हुँदै आए पनि खर्च कटाएर रु १५ लाख बचत हुने गरेको उनले बताए। गाई र भैँसीलाई खुवाउने पराल र दानामा बढी खर्च हुनेगरेको उनको भनाइ छ ।
रासस



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्