जकार्ता । इन्डोनेसियाको सेन्ट्रल पपुवा प्रान्तस्थित पानियाईमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा परी ६ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ। आगलागीका कारण कम्तीमा ४० वटा पसल तथा घर जलेर नष्ट भएका छन्।

स्थानीय समयअनुसार सोमबार मध्यरातपछि बजार क्षेत्रमा आगो लाग्न सुरु भएको थियो। सुरुमा एउटा क्षेत्रमा देखिएको आगो तीव्र गतिमा फैलिँदै आसपासका पसल तथा घरमा पुगेको थियो।

आगलागी नियन्त्रणमा लिन दमकल तथा पानीको फोहोरा प्रयोग गरिए पनि आगो तीन घण्टाभन्दा बढी समयसम्म नियन्त्रणमा आउन सकेको थिएन। प्रहरी प्रवक्ता हेनरी जे. मानुरुङका अनुसार घटनास्थलको निरीक्षणका क्रममा ११ जनाको शव फेला परेको थियो।

उनका अनुसार मृतक सबैको शरीरमा जलेको घाउ देखिएको थियो। मृत्यु हुनेमा पाँच जना वयस्क र ६ जना बालबालिका रहेका छन्। मृतक बालबालिकाको उमेर २ देखि ९ वर्षसम्म रहेको प्रहरीले जनाएको छ।

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको र आगो कसरी सुरु भयो भन्ने पत्ता लगाउने प्रयास भइरहेको अधिकारीहरूले बताएका छन्।

बजार क्षेत्र तथा आसपासका घर र पसलहरू एकअर्कासँग निकै नजिक तथा बाक्लो रूपमा निर्माण गरिएकाले आगो नियन्त्रणमा लिन कठिनाइ भएको प्रहरीले जनाएको छ। संरचनाहरू एकअर्कासँग टाँसिएका कारण आगो एउटा भवनबाट अर्को भवनमा तीव्र गतिमा फैलिएको अनुमान गरिएको छ।

अग्नि नियन्त्रकहरूले दमकल र पानीको फोहोरा प्रयोग गर्दै आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए। आगलागीपछि प्रभावित क्षेत्रमा ठूलो भौतिक क्षति भएको छ।

इन्डोनेसियामा पछिल्लो समय ठूला आगलागीका घटना भइरहेका छन्। यसअघि डिसेम्बरमा राजधानी जकार्ताको सेन्ट्रल जकार्तास्थित सात तले कार्यालय भवनमा भएको आगलागीमा २२ जनाको मृत्यु भएको थियो।