हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे अध्ययन गर्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली सिमकोट पुगेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज पौडेलको नेतृत्वमा रहेको टोली आइतबार सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिएका छन् ।

टोलीले घटनास्थलको यथार्थ अवस्था बुझ्न लाम्पाटा, च्याचौर लगायतका विवादित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । त्यसपछि टोली सिमकोट फर्किएको बताइएको छ ।

सिमकोट बसाइँका क्रममा टोलीले सीमा क्षेत्रका स्थानीय बासिन्दा, घटनामा संलग्न भनिएका व्यक्तिहरू, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा नागरिक अगुवासँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

गत जेठ २ देखि ४ गतेसम्म सीमा विवादका कारण हुम्ला र बाजुराका स्थानीयबीच झडप भएको थियो, जसले तनावपूर्ण अवस्था सिर्जना गरेको थियो ।

उक्त घटनापछि गृह मन्त्रालयले छानबिनका लागि टोली गठन गरेको हो । साथै, नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा छुट्टै अध्ययन टोली पनि गठन गरिएको छ ।

यसअघि सुदूरपश्चिम प्रदेश सरकारले प्रहरी चौकी निर्माणका लागि बजेट विनियोजन गरेपछि विवाद चर्किएको थियो । झडपमा बाजुराका चार जना घाइते भएका थिए, जसलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।

गृह मन्त्रालय र सम्बन्धित निकायले स्थलगत अध्ययनपछि प्रतिवेदन तयार गरी विवाद समाधानका लागि आवश्यक कदम चाल्ने अपेक्षा गरिएको छ ।