काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन आज देशभर घटस्थापना गरिँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णयअनुसार यस वर्ष असोज २५ गते घटस्थापना परेको हो । आजदेखि नवरात्र आरम्भ हुन्छ र नौ दिनसम्म शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आराधना गरिन्छ ।

यसरी गरिन्छ घटस्थापना

घटस्थापनाका दिन घरको पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरिन्छ । पवित्र नदी वा खोलाबाट ल्याइएको बालुवा र माटो मिसाएर जौ, मकै लगायतका अन्न छरी जमरा राख्ने चलन छ । यही जमरा विजयादशमीका दिन टीकासँगै प्रसादका रूपमा लगाइन्छ ।

आजदेखि नवमीसम्म घर–घरमा दुर्गा सप्तशती (चण्डी) पाठ गरिन्छ । नवरात्रको पहिलो दिन आज नवदुर्गामध्ये शैलपुत्रीको पूजा गरिन्छ । देशभरका शक्तिपीठ र देवी मन्दिरमा आजदेखि भक्तजनको भीड लाग्ने गर्छ ।

यस वर्षको दसैँका मुख्य तिथि

समितिका अनुसार फूलपाती असोज ३१ गते, महाष्टमी र कालरात्रि कात्तिक १ गते, महानवमी कात्तिक ३ गते र विजयादशमी कात्तिक ४ गते परेको छ । कोजाग्रत पूर्णिमा कात्तिक ८ गते परेको छ, जुन दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने चलन छ ।