एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा, समाधान खोज्दै क्यान

नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीहरूको सहभागिता अनिश्चित बनेपछि नेपाल क्रिकेट संघ (क्यान) ले समस्या समाधानका लागि पहल थालेको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) पाइसकेका खेलाडीलाई समेत प्रतियोगितामा सहभागी हुन रोक लगाएपछि यो विषय थप अन्योलपूर्ण बनेको हो।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार एनपीएल कमिटीले यस विषयमा पीसीबीसँग छलफल गरिरहेको छ। उनले पाकिस्तान क्रिकेट बोर्डको निर्णय भए पनि समस्या समाधान हुने आशा व्यक्त गरेका छन्।

ईएसपीएन क्रिकइन्फोका अनुसार पीसीबीले यसअघि एनओसी पाइसकेका खेलाडीलाई समेत एनपीएल खेल्न अनुमति नदिने निर्णय गरेको छ। प्रतियोगिता सुरु हुनुअघि यस्तो खबर सार्वजनिक भएपछि आयोजक कमिटीले पाकिस्तानी खेलाडीहरूको सहभागिता सुनिश्चित गर्न पहल थालेको हो।

एनपीएल सोमबार साँझ ५ बजेदेखि सुरु हुने तालिका रहेकाले त्यसअघि विवाद समाधान नभए पाकिस्तानी खेलाडी अनुबन्ध गरेका फ्रेन्चाइज टोलीहरू प्रभावित हुन सक्छन्। प्रतियोगिताका लागि केही पाकिस्तानी खेलाडी काठमाडौं आइसकेका छन् भने केही खेलाडी आउने तयारीमा रहेका बेला रोकिएका छन्।

क्रिकइन्फोले एनओसी जारी गर्न पीसीबीले प्रतिखेलाडी २५ हजार अमेरिकी डलर माग गरेको हुन सक्ने अनुमानसमेत सार्वजनिक गरेको छ। यद्यपि, यस विषयमा आधिकारिक पुष्टि भएको छैन।

एनपीएलमा पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहानसहित हैदर अली, हुनैन शाह, हुसेन तलत, इफ्तिखार अहमद, हसन अली र उसामा मिर अनुबन्ध भएका छन्। उनीहरू पाकिस्तानको एनपीएलसँग जुध्ने खेल तालिकामा रहेका कुनै पनि टोलीमा संलग्न नरहेको बताइएको छ।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुने तालिका छ। प्रतियोगितामा आठ टोली सहभागी छन्।